बार्सिलोना बेटिससँग स्तब्ध, रियलको जित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित हुँदा शीर्षस्थानमा रहेको रियल म्याड्रिडले भने अग्रता फराकिलो बनाउँदै लगेको छ । अर्को उपाधि दाबेदार मानिएको एट्लेटिको म्याड्रिडपनि पराजित भएको छ। बार्सिलोना घरेलु मैदानमा रियल बेटिससँग १-० ले स्तब्ध बन्यो ।

बार्सिलोनाको घरेलु मैदान नउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई स्तब्ध पार्न जुआनमीले दोस्रो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले ७९औँ मिनेटमा क्रिस्टियन टेलोको पासलाई सदुपयोग गरेका थिए । जाभी हर्नान्डेजको प्रशिक्षणमा बार्सिलोनाले पहिलो हार बेहोरेको हो । जाभीको प्रशिक्षणमा बार्सिलोनाले चार खेल खेल्दा दुई जित, एक बराबरी र हारको नतिजा निकालेको छ ।

ला लिगामा स्पान्योल र भिल्लारियललाई हराएको बार्सिलोनाले च्याम्पियन्स लिगमा बेन्फिकासँग गोलरहित बराबरी खेलेको थियो । हारसँगै बार्सिलोना १५ खेलबाट २३ अंक जोडेर सातौँ स्थानमा यथावत् रहेको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग १६ अंकले पछि परिसकेको छ । बार्सिलोनाले एक खेल कम खेलेको छ । बार्सिलोनालाई हराएको रियल बेटिस ३० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

अर्को खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा एट्लेटिको रियल मलोर्कासँग २-१ ले स्तब्ध बनेको छ । घरेलु टोलीका म्याथिअस कुन्हाले गोल गर्दा मलोर्काका फ्रान्को रुस्सो र ताकेफुसा कुवोले गोल गरेका थिए । एट्लेटिकोले ६८औँ मिनेटमा म्याथिअस कुन्हाको गोलबाट अग्रता लिएको थियो । उनले एन्जल कोरेआको पासमा गोल गरेका थिए ।

८०औँ मिनेटमा फ्रान्सको रुस्सोले काङ इन लिको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सब्सिच्युट ताकेफुसा कुवोले एन्जल रोड्रिग्वेजको पासमा गोल गर्दै एट्लेटिकोलाई स्तब्ध पारे ।

यो जितसँगै मलोर्का १९ अंक जोडेर १२औँ स्थानमा उक्लिएको छ । पराजित एट्लेटिको १९ अंक जोडेर चौथो स्थानमा झरेको छ । यस्तै अर्को खेलमा सेभियाले भिल्लारियललाई १-० ले तथा ग्रानडाले डिपोर्टिभो एलाभेसलाई २-१ ले पराजित गरेको छ । जितसँग सेभिया १५ खेलबाट ३१ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित भिल्लारियल १६ अंक जोडेर १३औँ स्थानमा छ । ग्रानडा १५औँ र एलाभेस १६औँ स्थानमा छ ।

शीर्षस्थानमा रहेको रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ । रियलले घरेलु टोलीमाथि २–० को सहज जित निकाल्दै शीर्षस्थानमा पकड बलियो बनाएको हो । रियलको १६ खेलबाट ३९ अंक पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *