एनआरटी र च्यासलको बराबरी

काठमाडौँ। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र च्यासल युथ क्लबले १—१ गोलको बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा शनिबार भएको दिनको दोस्रो खेलमा च्यासलले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । खेलको ४३ औँ मिनेटमा रुमेश बर्तौलाको गोलमा  च्यासलले अग्रता लिए पनि ७९ औँ मिनेटमा दिपेश घलेले बराबरी गोल गरे । बराबरीसँगै च्यासलले तीन खेलबाट चार अंक जोडेको छ ।

च्यासलले पाएको कर्नरमा एनआरटीका डिफेन्डरले राम्रो क्लियर गर्न नसकेको बललाई रुमेशले गोल गरेका थिए। तर दोस्रो हाफमा एनआरटी खेलमा फर्कियो। सब्सटिच्युट दिपेश घलेले ७९ औ मिनेटमा च्यासलका राजिव लोप्चनले क्लियर गर्न नसकेको बललाई सहज रुपमा गोल गर्दै टिमको संभावित हार टारे ।

पहिलो हाफमा २१ औ मिनेटमा अशोक थापाको क्रसलाई दर्शन गुरूङले वानटच मिस गर्दा एनआरटीले सुरुवाति गोलको मौका चुकाएको थियो । त्यसपछि पनि एनआरटीले केहि सिमित अवसर बनाएपनि गोल गर्न भने सकेन।

च्यासलले भने एनआरटीविरुद्ध केही प्रयास गरेपनि एकमात्र आक्रमण निर्णायक बन्यो।

दोस्रो हाफमा दुबै टीमले गोलका प्रयास जारी राखे। ५० औ मिनेटमा कमल श्रेष्ठको फ्रिकिक अभिषेक लिम्बुले गरेको हेड टार्गेटमा नहुँदा च्यासलले दोस्रो गोलको अवसर गुमायो। ७३ औ मिनेटमा मेसोउकेले गरेको प्रहार सफल हुन नसक्दा एनआरटीले बराबरीको अवसर चुकायो।

प्रतियोगिताको तेस्रो खेलमा एनआरटीको यो दोस्रो बराबरी हो । यसअघि भएका दुई खेलमा एनआरटीले एक खेलमा भने हार भोगेको थियो। उसको अंक तालिकामा २ अंक भएको छ। च्यासलको भने ४ अंक भएको छ।  च्यासलले अघिल्ला दुई मध्ये एक खेलमा जित र अर्को एक खेलमा हार भोगेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *