जन्मभूमिमा अजाजको सनसनी, एक्लैले लिए १० विकेट

काठमाडौँ । भारत र न्युजिल्यान्डबीच चलिरहेको दोस्रो टेस्टमा न्युजिल्यान्डका बलर अजाज पटेलले सनसनीपूर्ण प्रदर्शन गरेका छन् । उनले दोस्रो टेस्टको पहिलो इनिङमा भारतका सबै १० विकेट लिएका  छन्। भारतले पहिलो इनिङमा ३२५ रन बनाएको छ । भारतका लागि मंयक अग्रवालले १५० रन बनाए ।

मुम्बईमा जन्मिएका अजाजको मुम्बइमै कीर्तिमानी प्रदर्शन

भारतको मुम्बईमा २१ अक्टोबर १९८८ मा जन्मिएका अजाजले भारतविरुद्ध नै सनसनी मच्चाएका हुन् । संयोग नै भनौँ, यो खेल  उनकै जन्मनगर मुम्बईको वाङ्खडे रङ्गशालामा भइरहेको छ । पटेल ८ वर्षको हुँदा उनको परिवार न्युजिल्यान्ड बसाइँ सरेको थियो।

यो खेलमा ११९ रन दिएर १० विकेट लिँदै अजाजले धेरै कीर्तिमान आफ्नो नाममा पारे । भारतमा यो उपलब्धि हासिल गर्ने उनी पहिलो विदेशी बलर बनेका छन् । भारतमा कुनै पनि स्पिनरको यो सर्वाधिक उच्चस्तरको प्रदर्शन हो । यसअघि भारतसँग सबैभन्दा धेरै विकेट लिएको रेकर्ड ज्याक नोरीगाको नाममा थियो । उनले १९७१ मा ९५ रन खर्चिएर ९ विकेट लिएका थिए ।

यस्तै, न्युजिल्यान्डका कुनै पनि बलरले टेस्टको एकै इनिङमा गरेको यो सर्वश्रेष्ठ प्रदर्शन हो । पछिल्लो पटक १९८५ मा रिचर्ड हैडलीले अस्ट्रेलियासँग ५२ रन खर्चिएर ९ विकेट लिएका थिए ।

अजाज भारतमा कुनै पनि टेस्टको पहिलो इनिङमा सर्वाधिक विकेट लिने किवी स्पिनर पनि बने । यसअघि, २०१२ मा जीतन पटेलले हैदराबाद टेस्टको पहिलो इनिङमा ४ विकेट लिएका थिए । त्यस्तै ड्यानिएल भिटोरीले १९९९ र २०१० मा अहमदाबाद टेस्टको पहिलो इनिङमा समान ४-४ विकेट लिएका थिए । अजाज तेस्रो पटक एकै इनिङमा ५ वा त्यो भन्दा बढी विकेट लिन पनि सफल भएका छन् ।

तर, न्युजिल्यान्डको खराब प्रदर्शन

अजाजले उत्कृष्ट प्रदर्शन गरेपनि न्युजिल्यान्डले जवाफी ब्याटिङ भने कमजोर गरेको छ । न्युजिल्यान्डले ६२ रनमा अलआउट भयो । उसका केल जेमिन्सनले बनाएको १७ रन सर्वाधिक रह्यो ।

उनीबाहेक टोम लाथमले १० रन बनाउनुबाहेक कसैले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । भारतका रविचन्द्रन आश्विनले ४, मोहमद्ध सिराजले ३, अक्षर पटेलले २ जयन्त यादवले १ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *