यू-१९ एकदिवसीय: फाइनलमा सुदुरपश्चिम र लुम्बिनी खेल्ने

काठमाडौँ । सुदुरपश्चिम प्रदेश यू-१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रबार कीर्तिपुरमा भएको समुहचरणको अन्तिम खेलमा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदुरपश्चिमले फाइनलमा स्थान बनाएको हो ।

समुहचरणको अन्तिम तथा निर्णायक खेलमा बागमतीलाई जित्नैपर्ने दबाब थियो । तर बागमतीलाई मात्र ९५ रनमा समेट्दै सुदुरपश्चिमले सहज जित निकाल्यो । ९६ रनको लक्ष्य सुदुरपश्चिमले मात्र २ विकेट गुमाएर पुरा गरेको थियो ।

जितसँगै समुहचरणमा ८ अंक सहित तालिकाको दोस्रो स्थानमा रहँदै सुदुरपश्चिमले फाइनलमा स्थान बनायो । लुम्बिनी यसअघि नै १० अंकका साथ फाइनलमा स्थान बनाइसकेको छ ।

शुक्रबारको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ३० ओभर १ बलमा ९५ रन मात्रै जोड्न सक्यो। बागमतीका विवेक मगरले ७५ बलमा ३२ रन बनाउनु सर्वाधिक रह्यो । त्यस्तै कृष कार्कीले १७ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक रन छुन सकेनन् । बागमतीलाई सस्तैमा समेट्न सुदूरपश्चिमका हेमन्त मल्ल र शेर मल्लले क्रमसः ५ र ४ विकेट लिए।

सुदूरपश्चिमलाई ८ विकेटको जित दिलाउन नरेश भट्ट र राहुल भण्डारीले तेस्रो विकेटका लागि अविजित ५८ रनको साझेदारी गरे। भट्टले ५८ बलमा ३७ रनको अविजित इनिङ खेल्दा भण्डारीले ३९ बलमा ३१ रन बनाए । कप्तान खडक बोहोरा ५ र बसन्त कार्की ११ रनमा आउट भए । बागमतीका लागि प्रतिश जिसी र गौतम केसीले १-१ विकेट लिए।

फाइनल आईतबार कीर्तिपुरमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *