देवघाटमा शतबीज छर्नेको भीड   

चितवन । बालाचर्तुदशी पर्वका अवसरमा देवघाटधाममा शतबीज छर्ने भक्तजनको भीड रहेको छ । कोरोना त्रासका कारण अघिल्ला दुई वर्ष न्यून सङ्ख्यामा मानिस आएको भए पनि यस वर्ष ठूलो भीड लागेको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार बिहीबार दिउँसोबाट देवघाटमा भक्तजन आउन थालेका हुन् । रातभर दियो बालेर जाग्राम बसी आज बिहान ३ बजेदेखि स्नान गरेर शतबीज छर्न थालिएको हो । उनका अनुसार तनहुँतर्फ मणि मुकुन्दसेन चक्रवर्ती पार्कमा शतबीज छर्नका शतबीज मार्ग व्यवस्थापन गरिएको छ । चितवनतर्फ वन क्षेत्रमा पनि भक्तजनले शतबीज छरेका छन् ।

यकिन तथ्याङ्क नहुने भए पनि ५० हजार हाराहारी भक्तजन देवघाट आएको अनुमान गरिएको घिमिरेले जानकारी दिए। यो सङ्ख्या पछिल्ला वर्षको सबैभन्दा बढी हो । दिवङ्गत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै बालाचतुर्दशीमा शतबीज छर्ने गरिन्छ । शतबीजमा धान, गहुँ, जौ, हलेदो, सक्खरखण्डलगायत चिजबीज छर्ने परम्परा छ ।

आजका दिन देवघाटधामको त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा शतबीज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको छ । देवघाट पवित्र तीर्थस्थल हो । ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले सुरक्षा, बत्ती, शौचालयलगायत व्यवस्थापनमा समितिले ध्यान दिएको उनले बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *