‘धाःला नेवा भ्वय् छेँ’ मा रमाइरहेकी निक्की

ललितपुर । ‘देखेका सबै सपना पूरा नहुने रहेछन्, हामी बाँच्नुपर्ने त वास्तविकतामा पो रहेछ ।’ यसो भनिरहँदा निक्कीको अनुहारमा पश्चात्ताप होइन‚ सन्तुष्टिले भरिएको मुस्कान देखिएको थियो ।

निक्कीले सानै हुँदा एउटा सपना देखेकी थिइन् डाक्टर बन्ने । ललितपुरको एउटा सामान्य आर्थिक अवस्था भएको परिवारमा जन्मिएकी निक्की महर्जनको परिवारले उनले देखेको त्यो सपनालाई मलजल गर्नै सकेन । उनको डाक्टर बन्ने सपना पूरा हुन सकेन । परिवारलाई बोझ बनेर डाक्टर बन्ने सपना उनले त्यागिदिइन् ।

अहिले निक्कीलाई आफ्नो त्यो सपना पूरा नभएकोमा कुनै पश्चात्ताप छैन । किनभने अहिले उनी पूरा हुने सपनामात्र देख्ने भइसकेकी छिन् । ‘लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक’की क्षेत्रीय अध्यक्ष रहेकी निक्की अहिले नेवारी रेस्टुरेन्ट चलाएर बसेकी छन् । निक्की हाँसिन्, ‘हो ! यस्तै पूरा गर्न सक्ने सपना देख्नुपर्ने रहेछ ।’

ललितपुरको नख्खिपोटमा उनको चिटिक्कको नेवारी किचेन छ । किचेनको नाम नै नेपाल भाषामा राखिएको छ ‘धाःला भ्वय् छेँ’ । ‘धाःला’ को अर्थ छ्याङ हाल्ने भाँडो, ‘भ्वय्’को अर्थ भोज र ‘छेँ’ को अर्थ घर भन्ने हुन्छ । निक्कीले प्रस्ट्याइन् ‘भोज खाने घर’ भन्ने अर्थमा यो नाम छानिएको हो । निक्कीको नेवारी किचेनमा छिर्नासाथ कुनै नेवारी भान्छामा छिरेको महसुस हुन्छ । किचेनको थिम नै नेवारी छ । हाकुपटासीजस्तै पर्दा राखिएको छ । सोफामा त्यस्तै थिमको रङ भरिएको छ । भुईँमा नेवार समुदायमा भोज खाँदा ओछ्याउने सुकुल छ, पानी पिउने करुवा छ ।

ग्राहकको आँखैसामु योमरी बनाइरहेको दृश्यले ध्यान तानिहाल्छ । आफैँ दिनरात खटेर निक्कीले नेवारी किचेन चलाइरहेकी छन् । उनले यो काम सुरु गरेको धेरै भएको छैन । कोरोना कहरले गर्दा भएको लामो निषेधाज्ञापछि आफूलाई अति आवश्यक परेका मान्छेलाई केही थोरै भएपनि सहयोग गर्ने इच्छा लागेको र कतैबाट कमाएको नाफाको केही प्रतिशत समाजसेवामा लगाउने सोचले रेस्टुरेन्ट खोल्ने निर्णय गरेको उनले बताइन् ।

वैशाखको पहिलो हप्ता खोलेको नेवारी किचेन खोल्नेबित्तिकै महामारीका कारण घाटा व्यहोर्नुपर्‍यो । तर निक्कीले काम छाडिनन् । काठमाडौँ विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी निक्कीले शिक्षण र बैङ्कको जागिर छाडेर व्यवसाय थालेकी थिइन् । त्यसैले दोस्रो चरणको निषेधाज्ञाको समयमा पनि उनले खाजा घरघरमा पुर्‍याउने सेवा दिइन् । यसरी कमाएको पैसामध्ये केही रकमले उनले काठमाडौँका वृद्धाश्रममा खाना खुवाइन् । स्वास्थ्य शिविर, रक्तदान, मधुमेह जाँचजस्ता क्षेत्रमा सक्रिय भइन् ।

सेकुवा त्यसमा पनि बंगुरका लागि प्रचलित नख्खिपोट क्षेत्रमा उनले नेवारी रेस्टुरेन्ट खोलिन् । अलि फरक भएकाले पनि धेरैजना खोजीखोजी आउने उनको अनुभव छ । निक्कीले भनिन्, ‘केही फरक भएकैले पनि होला स्थानीय ग्राहकहरू खोज्दै आउनुहुन्छ । अफिस र स्कुलहरूबाट योमरीको अर्डर आउँछ । होम डेलिभरी गरिदिने भएकाले उहाँहरूलाई पनि सजिलो छ । रेस्टुरेन्ट चल्दैन भन्ने चिन्ता छैन ।’

‘धाःला नेवा भ्वय् छेँ’ को योमरी विशेष हो । त्यससँगै हाँस र बफ छोयला, एग, चिकेन, बफ, भेज र मासको बारा, नेवारी खाजा सेट, आलु तामालगायत पनि यसका आकर्षक परिकार हुन् । सुरुमा १५ लाख लगानी गरेर सुरु गरेको यो रेस्टुरेन्टले अहिले खर्च, कटाएर बच्नेमध्ये केही रकमबाट अति आवश्यकता परेका व्यक्तिलाई खाना, लुगा, विद्यार्थीलाई शैक्षिक सामग्रीलगायत सहयोग गर्ने गरेको निक्की बताउँछिन् । जागिर खाँदाको जस्तो प्रेसर र बाँधिनुपर्ने बाध्यता नभएकाले पनि उनलाई यो काममा खुसी लागेको छ ।

निक्कीले यो जाडो याम सकिएपछि मुगुका केही विद्यालयमा खानेपानीको ट्याङ्की बनाइदिने योजना बनाएको सुनाइन् । अहिले यसबारे अध्ययन गरिरहेको उनले बताइन् ।

निक्कीले ललितपुरकै ज्यापू समाजमा रहेर पनि लामो समय काम गरिन् । त्यहीँबाट उपत्यकाका नेवार महिलाहरूको अवस्थाबारे बुझ्न सजिलो भएको उनी बताउँछिन् । यसले गर्दा उनलाई महिलाका लागि आयआर्जनका केही काम गर्नुपर्छ भन्ने पनि लागेको छ । ‘महिलाहरूलाई घरमै बसेर आयआर्जन गर्न सक्ने सीपको तालिम र सामान उपलब्ध गराइदिने योजना बनाइरहेकी छु‚’ उनले अर्को योजना पनि सुनाइन् ।

प्रतिक्रिया

One thought on “‘धाःला नेवा भ्वय् छेँ’ मा रमाइरहेकी निक्की

  1. अहिलेकाे युवा युवतीमा यस्ताे जाेस जागर भएर उध्धमशिल कार्यले देशले प्रगतिकाे बाटाे चाडाे चुम्ने छ । खुशी लाग्याे हजुरकाे याे लेखबाट धेरै कुरा सिक्ने अबसर पाएकाेमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *