लुम्बिनी यू-१९ राष्ट्रिय क्रिकेटको फाइनलमा

काठमाडौँमा जारी यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश फाइनल पुग्ने पहिलो टीम बनेको छ । बुधबार प्रतियोगिताअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा लुम्बिनीले प्रदेश २ लाई ९ विकेटले पराजित गर्दै फाइनल पुग्ने पहिलो टीम बनेको हो ।

लुम्बिनीले ६ खेलबाट ५ जितसहित १० अंक बनाएर फाइनल पुग्न सफल भएको छ ।

टीयू मैदान कीर्तिपुरमा टस हारेर पहिलो ब्याटिङ गरेको प्रदेश दुईले ३९.५ ओभरमा अलआउट हुँदै १६८ रन बनायो । जवाफमा उक्त लक्ष्य लुम्बिनीले २६.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

प्रदेश दुईका लागि ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाउँदा गल्न झाले ३२ तथा अदिल अन्सारी २२ रनमा अविजित रहे । उसका ८ खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन् । लुम्बिनीका लागि वासिर अहमेद्धले सर्वाधिक ५ विकेट लिँदा विशाल विक्रम केसीले ३ तथा राहुल चौधरीले २ विकेट हात पारेका थिए ।

जवाफमा लुम्बिनीले उत्कृष्ट सुरुवात गर्यो । पहिलो विकेटका लागि ओपनरद्वय आकाश त्रिपाठी र कप्तान डेभ खनालले १४१ रनको सानदार साझेदारी गरे । त्रिपाठिले ६२ बल खेल्दै ९ चौकाको सहयोगमा ५७ रन बनाए । त्यस्तै अर्का ओपनर डेभ खनालले ८९ बलमा ६२ रनको अविजित इनिङ खेले । उनलाई प्रज्जवल थापाले १३ रनमा साथ दिएका थिए ।

यसअघि लुम्बिनीले प्रतियोगितामा आफ्नो पहिलो खेलमा गण्डकीलाई ९ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कर्णालीसँग १४० रनले पराजित भएको थियो ।

यद्यपि त्यसपछि भने लुम्बिनीले लगातार जित निकाल्यो । तेस्रो खेलमा सुदूरपश्चिमलाई २ विकेटले हराउँदा चौथो खेलमा बागमतीमाथि ३ विकेटको जित निकाल्यो । त्यस्तै पाँचौं खेलमा प्रदेश एक लाई ६ विकेटले पराजित गर्दै फाइनल नजिक पुगेको लुम्बिनी अन्ततः अन्तिम खेलमा प्रदेश दुईलाई पाखा लगाउन सफल भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *