कतारले दियो नेपाललाई ५० थान भेन्टिलेटर

काठमाडौं । कतार सरकारले नेपाललाई ५० थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोनाको पछिल्लो भेरियन्ट विश्वव्यापी फैलिने आँकलन भइरहेका बेला कतारले नेपाललाई उक्त स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसँग लड्न नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटर सहित स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाएको छ ।

टर्किस एयरलाइन्सको जहाजमार्फत काठमाडौं ल्याइएको भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री कतारी राजदूतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझी मार्फत नेपाल सरकरालाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल–मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको सहयोगको कृतज्ञता स्वरुप हरेक समयमा नेपाललाई आवश्यक पर्दा साथ दिन पछि नपर्ने बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझीले कतार सरकारले आवश्यक परेको समयमा सँधै नेपाललाई सहयोग गरेको बताए ।
उक्त सहयोग सामग्री आवश्यक परेका सरकारी अवस्पताललाई वितरण गरिने जनाइएको छ ।

कोरोना महामारी शुरू भएपछि नै कतार सरकारले नेपाल सरकारलाई चार्टर्ड फ्लाइटमार्फत् स्वास्थ्य सामग्री पठाएको थियो भने कोभ्याक्स कार्यक्रममार्फत् कोरोना विरूद्दको खोप उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *