अपराजित प्रदेश एकलाई हराउँदै लुम्बिनी शीर्ष स्थानमा

काठमाडौँमा जारी यू-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश एकमाथि ६ विकेटको प्रभावशाली जित निकाल्दै लुम्बिनी प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आफ्नो पाँचौं खेलमा चौथो जित निकाल्न सफल हुँदै लुम्बिनी शीर्ष स्थानमा उक्लिएको हो ।

लगातार तीन खेलमा अपराजित रहेको प्रदेश एक भने चौथो खेलमा हार भोग्न बाध्य भयो । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश एकले ३७.२ ओभरमा अलआउट हुँदै केवल १०६ रनमात्र बनाउन सक्यो । १०७ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको लुम्बिनीले २३.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ६ विकेटको जित निकाल्यो ।

लुम्बिनीलाई सहज जित दिलाउन कप्तान तथा ओपनर डेभ खनालले २५ रन बनाउँदा विशाल विक्रम केसीले २६ रन बनाए । त्यस्तै वासिर अहमेद २४ रनमा नटआउट रहे । त्यसअघि ओपनर आकाश त्रिपाठीले १३ रन जोड्दा विक्रम भण्डारीले १६ रन बनाएका थिए ।

प्रदेश एकका लागि दिपेश कँडेलले २ विकेट लिँदा गौरव कट्वाल र लुभ कामतका नाममा १-१ विकेट रह्यो ।

यसअघि खराब प्रदर्शन गरेको प्रदेश एकका लागि तीन खेलाडीले मात्र दोहोरो रनको स्कोर तयार गर्न सके । लुम्बिनीका बलरसामु निरीह देखिएको प्रदेश १ का लागि गौरव कट्वालले सर्वाधिक १९ रन बनाउँदा दिपक जोशीले १८ र राकेश शाहले १३ रनको योगदान दिए । खराव सुरुवात गरेको प्रदेश एकले सात रन हुँदा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि उसको स्कोर २० रन हुँदा तीन विकेट झरेको थियो ।

प्रदेश एकका कुनैपनि खेलाडीबीच गतिलो साझेदारी हुन सकेन । एकपछि अर्को विकेट गुमाएको प्रदेश एकको पारी मात्र एक सय ६ रनमा समेटियो ।

सस्तैमा समेट्ने क्रममा लुम्बिनीका मोहम्मद हुसेनले पाँच विकेट लिए भने वासिर अहमेदले तीन तथा दुर्गेश गुप्ताले दुई विकेट लिए । जितसँगै लुम्बिनिको फाइनल यात्रासमेत बलियो बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *