कर्णालीमाथि सुदूरपश्चिमको फराकिलो जित

काठमाडौँ । काठमाडौँमा जारी यू-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले पहिलो जित निकालेको छ । आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको हो । कर्णालीले भने चौथो खेलमा तेस्रो हार व्यहोरेको हो ।

जारी प्रतियोगितामा कर्णालीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई १४० रनले पराजित गरेको थियो । त्यसयता भने कर्णाली लगातार पराजित हुँदै आएको छ । कर्णाली आफ्नो दोस्रो खेलमा एक नम्बर प्रदेशसँग ७६ रनले हारेको थियो । त्यस्तै शनिबार गण्डकीसँग तेस्रो खेलमा कर्णाली ३ विकेटले पराजित भएको थियो ।

आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको कर्णाली १६.५ ओभरमा अलआउट हुँदै केवल ६६ रनमात्रै जोड्न सफल भयो । जवाफमा उक्त लक्ष्य सुदूरपश्चिमले १२.१ ओभरमा बिनाविकेटको क्षतिमा पूरा गर्न सफल भयो ।

सुदूरपश्चिमको जितमा कप्तान खडक बोहोरा र नरेश भट्टले अविजित साझेदारी गरे । बोहोरा ४२ बलमा ४१ रन बनाएर अविजित रहँदा उनलाई भट्टले ३१ बलमा १६ रन बनाएर साथ दिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको कर्णालीका लागि प्रकाश जैशीको १५ रन सर्वाधिक रह्यो । त्यस्तै थप दोहोरो स्कोरका रुपमा रमेश बुढाको १२ र रुपक दाहलको ११ रन रह्यो । उसका चार ब्याट्सम्यानले खाता खोल्न सकेका थिएनन् ।

कर्णालीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका आकाश चन्द, नारायण जोशी र शेर मल्लले समान ३-३ विकेट लिए । एक विकेट नरेन्द्र साउदको नाममा रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *