कोरोनाको नयाँ भेरियन्ट अहिलेको भ्याक्सिनलाई पनि चुनौती बन्न सक्छ : डा. पुन

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ यूरोप र अमेरिकी देशहरूमा तीव्र गतीमा फैलिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

२४ नोभम्बरमा दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन’ कोरोनाको अहिलेसम्मकै छिटो फैलने भेरियन्ट भएको समेत संगठनले जनाएको छ । यसले विश्वभरि पुनः तीव्र गतीमा महामारी फैलाउन सक्ने भन्दै बहस सुरु भएको छ ।

बेल्जियम, हङकङ, क्यानडा, रसिया, जर्मनी, अमेरिकालगायत देशमा ‘ओमिक्रोन’को संक्रमण फैलिन थालिसकेको छ । न्यूयोर्कमा त आपत्काल नै घोषणा गरिएको छ ।

कोरोनाको यो तीव्र गतीमा फैलने गरी भाइरसमा भएको म्युटेसनले अब उपलब्ध भएको खोपमाथि नै चुनौती खडा गर्ने सम्भावना उच्च रहेको सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले जानकारी दिए ।

‘अफ्रिकामा पछिल्लो समय यो यति छिटो फैलिएको छ कि हामीले यसबारे अहिले नै सोच्नुपर्ने देखिएको छ ।’ स्पाइक प्रोटिन (भाइरसको बाहिरको चुच्चो) मा अत्यन्तै धेरै म्युटेसन देखिएकाले यो निकै संक्रामकसमेत रहेको उनले जानकारी दिए ।

उनले भने, ‘हामीले जति पनि खोपहरू लगाइरहेका छौँ, ती सबै ‘स्पाइक प्रोटिन’प्रति लक्षित छन् । यी खोपहरू भाइरसविरुद्ध बनाएको ‘एन्टिबडी’ हुबहु खोपको ‘स्पाइक प्रोटीन’मा आधारित भएर बनेको छ‚’ उनले भने‚ ‘त्यसैले स्पाइकमा नै धेरै उत्परिवर्तन भएपछि पहिचानमा समेत कठिनाइ हुने शंका रहन्छ । त्यसैको आधारमा खोपको प्रभावकारिता नहुने अनुमान गरिएको छ । तर यसबारे प्रष्ट हुने गरी अध्ययन भने हुन बाँकी छ ।’

यसबाट अहिले तत्काल सतर्क हुन हवाईमार्ग र भारतको खुल्ला सिमानाबारे निर्णय गरिहाल्नुपर्ने उनी बताउँछन् । ‘यदि भारतमा त्यो भाइरस देखियो भने त्यो हाम्रा लागि थप चुनौतीको विषय बन्न पुग्छ‚’ डा पुनले भने ।

विगतमा थाहा पाउँदा पनि हामीले भाइरसको संक्रमण नियन्त्रण गर्न धेरै कठिन भएको कारण समयमा नै सीमाबारे व्यवहारिक निर्णय गर्नुपर्ने डा. पुनको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *