विश्वकप छनोट

अपराजित युएईसँग निर्णायक खेल खेल्दै नेपाल

काठमाडाैँ । आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालले आज समूहको अन्तिम खेलमा आयोजक युएईसँग निर्णायक प्रतिस्पर्धा गर्दै छ । लिग अंक तालिकामा अपराजित रहेर शीर्ष स्थानमा रहेको युएईविरुद्ध एक खेलमा पराजित नेपाल जित्नै पर्ने दबाबमा छ ।

पहिलो खेलमा नै हङकङसँग पराजित भएको नेपालका लागि ग्लोबल छनोटमा पुग्न फराकिलो जित आवश्यक पर्छ । ६ टीम सहभागी प्रतियोगितामा शीर्ष एक टीमले ग्लोबल छनोटमा स्थान बनाउने छ ।

युएई विरुद्ध नेपालको विगतमा दुई खेल खेल्दा दुबैमा जित निकाल्न सफल भएको थियो । २०१९ मा भएका महिला टी-ट्वेन्टी विश्वकप क्वालिफायरको एसिया छनोट अन्तर्गत २२ फेब्रुअरीमा ७ विकेटले विजयी भएको थियो भने त्यसअघि १४ जनवरि २०१९ मा थाइल्यान्डमा भएको टी-ट्वेन्टी स्म्याचमा नेपाल ६ विकेटले विजयी भएको थियो । यद्यपि युएईसँग त्यसपछि भने नेपालले प्रतिस्पर्धा गरेको छैन । जसले गर्दा सुधारिएको युएई विरुद्ध नेपाललाई फराकिलो जित मुस्किल पर्ने पक्का छ ।

दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहान ११:१५ मा सुरु हुने खेलमा नेपाल जितसँगै राम्रो रन रेटको समेत प्रतीक्षामा रहेको छ । रोमाञ्चक देखिएको अंक तालिकामा चार खेलमा जित निकाल्दै युएई ८ अंक सहित शीर्ष स्थानमा छ त्यस्तै नेपाल सहित हङकङले चारमध्ये समान तीन खेलमा जित निकाल्दै ६-६ अंक बनाएका छन् ।

नेट रन रेटमा पनि शीर्ष स्थानको युएई सबैभन्दा अघि छ । युएईको २.३९८ रहेको छ भने नेपालको २.०८८ रहेको छ । त्यसैले नेपाललाई शीर्ष स्थानमा पुग्न युएई विरुद्ध फराकिलो जित आवश्यक पर्ने छ । हङकङ भने प्रतियोगिताबाट बाहिरिइसकेको छ । नेपाल र युएई मध्ये एक टीमले ग्लोबल छनोटमा स्थान बनाउने छन् । नियम अनुसार शीर्ष स्थानमा रहने एक टीमले ग्लोबल छनोट खेल्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *