मुलुकमा उद्यमशीलताको खाँचो छ : पूर्व प्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकमा उद्यमशीलताको विकास गरेर मात्र समाजवादी व्यवस्थालाई समुन्नत बनाउन सकिने बताएका छन् ।

फाउण्डेशन फर क्रिटिकल डिस्कोर्ष नेपालले आयोजना गरेको ‘समकालीन पुँजीवाद र नेपालमा समाजवादी आन्दोलन’ विषयक छलफलमा नेता खनालले विश्वव्यापीकरणको प्रभाव समाजवादी अर्थतन्त्रमा पर्ने हुँदा उत्पादन वृद्धि गरी जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा जोड दिए । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता खनालले सरकारले कृषि क्षेत्रमा लगानी वृद्धि गरी आम्दानी बढाउन सकेमा समाजवाद सफल हुने विश्वास व्यक्त गर्दै पुँजी, प्रविधि, व्यवस्थापकीय सीप भित्र्याउनुपर्ने सुझाव दिए ।

मार्क्सको पुँजीवादी पालादेखि हालको वैज्ञानिक समाजवादको सुरुआत चरणको व्यवस्थाबारेमा सम्मानित नेता खनालले धारणा राखेका थिए । उनले क्रान्तिकारी सिद्धान्तबिना क्रान्ति सम्भव नहुनेमा जोड दिए । उनले दलाल पुँजीवादको शोषणमा पर्ने दिन समाप्त भएको बताउँदै अब वैज्ञानिक समाजवादको पक्षमा सबैले क्रान्ति गर्नुपर्ने धारणा राखे । दलाल पुँजीवादसँग जुधेर सामाजिक रूपान्तरण र देश विकासको पक्षमा लाग्नुपर्ने उनको भनाइ थियो । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *