कुवेतमाथि नेपालको फराकिलो जित

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा दोस्रो जित निकालेको छ ।

कुवेतविरुद्ध बिहिLबार आईसीसी एकेडेमी मैदानमा भएको खेलमा नेपाल ९ विकेटले विजयी भयो । कुवेतविरुद्ध फराकिलो जित निकाल्दा नेपाल तत्कालका लागि अंक तालिकाको शीर्ष स्थानमा उक्लियो । नेपालको तीन खेलमा ४ अंक भएको छ ।

नेपाली बलरसामु निरीह देखिएको कुवेतले केवल २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य नेपालले २१ बल (३.३ ओभर)मा नै पूरा गर्‍यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले १२ तथा इन्दु बर्माले १३ रनको अविजित इनिङ खेल्दै जित दिलाए । ओपनर सिता राना मगर भने शून्य रनमा पेभिलियन फर्किएकी थिइन् ।

त्यसअघि पहिलो ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा अल आउट हुँदै केवल २७ रनमात्र जोड्यो । उसका लागि ओपनर प्रियादा मुरालीले बनाएको १० रन नै सर्वाधिक रह्यो । कुवेतलाई सस्तैमा समेट्न संगिता राई र कप्तान रुविना क्षेत्रीले समान तीन-तीन विकेट ‌लिए ।

करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीको नाममा एक-एक विकेट रह्यो ।

नेपाल यसअघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो भने भुटानलाई ८ विकेटले हराएको थियो ।

कुवेत भने अघिल्ला दुवै खेलमा पराजित भएको थियो । उसले भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनको हार व्यहोरेको थियो । जितसँगै नेपालको ग्लोबल छनोटको सम्भावना कायमै छ । हङकङ पराजित भएकाले नेपाले अब बाँकी रहेका दुई खेलमा मलेसिया र आयोजक युएईलाई पराजित गरे ग्लोबल छनोटमा स्थान बनाउनेछ । प्रतियोगितामा युएई दुई खेलमा अपराजित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *