आरती स्ट्रिप्समा कर्मचारी कुटपिटको घटना मिलाउन राजनीतिक दबाब, उजुरी नगर्ने सहमति

विराटनगर । कर्मचारी कुटपिटको घटना लेनदेनमा मिलाउने खेल भएको छ । गएराति आरती स्ट्रिप्सका सञ्चालक सञ्जय सिंघलसहितका सञ्चालकले उद्योगका जनसम्पर्क प्रमुख दिवस नेपाललाई कुटपिट गरेको घटना रात कट्न नपाउँदै लेनदेनमा मिलाइएको खुलेको छ ।

बुधबार बेलुका कर्मचारी कुटेको आरोपमा सिंघल पक्राउ परेका थिए । पक्राउ परेको केहिबेरमै नेपाली कांग्रेसका नेताहरू जिल्ला प्रहरी कार्यालयमा पुगेर सिंघललाई छुटाएका हुन् । राजनीतिक नेतृत्वको दबाबमा उनलाई प्रहरीले सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएकोमा केहीबेरपछि नै छाडेको थियो ।

बुधबार बेलुका उद्योगका सञ्चालक सिंघलसहितको टोलीले कामदार लगाएर कुटपिट गरेको‚ पेस्तोल देखाएर मार्ने प्रयास गरेको घाइते नेपालले प्रतिक्रिया दिएका थिए ।

घाइते नेपालका अनुसार सञ्चालकले पेस्तोल देखाएर मार्ने प्रयास गरेको त्यो पेस्तोललाई आफूले थुतेर झारेपछि रड प्रहार गरेर घाइते बनाएको उनले बताउँदै आएका थिए । अस्पतालमा रहेका नेपालले उपचारको क्रममा आफूलाई मार्ने प्रयास उद्योग सञ्चालकले गरेको आरोप लगाएका थिए ।

यो पनि : उद्योगमा कर्मचारी र मजदुरबीच कुटाकुट, एक जना अस्पताल भर्ना

सांघातिक आक्रमण भएपछि सिंघललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले बताएका थिए । आक्रमणपछि नियन्त्रणमा रहेका सिंघललाई प्रहरीले राती ९ बजेतिर छाडेको प्रहरी स्रोतको भनाइ छ ।

उनलाई छाड्नका लागि नेपाली कांग्रेसका जिल्ला तहका नेता जिल्ला प्रहरी कार्यालय पुगेको स्रोत बताउँछ । ती नेताले सिंघललाई त्यहाँबाट ल्याएपछि डा. शेखर कोइरालाको दबाबमा मिलापत्र गर्न भनिएको र रातारात सहमतिको प्रयास लेनदेनमा गएर टुंगो लागेको स्रोतको दाबी छ ।

घाइते भनिएका नेपाल नेपाली कांग्रेस नगरका सह-सचिव हुन् । दुवै पक्षले कुनै पनि उजुरबाजुर नगर्ने भन्दै मेलमिलाप भएको हो । घाइते भनिएका दिवस नेपालले सिंघलविरुद्ध अहिलेसम्म जिल्ला प्रहरी कार्यालयमा जाहेरी नदिएको मोरङका डिएसपी दिपक श्रेष्ठले बताए । सिंघल छुटे पनि प्रहरीले उनलाई निगरानीमा राखेको जनाएको छ ।

सिंघलसहितको टोलीले बन्दुक देखाएर कुटपिट गरेको पीडित नेपालको गुनासो छ । सिंघलले ‘मारिदे कति पैसा लाग्छ म तिर्छु’ भन्दै आरती स्ट्रिप्सका भाइस प्रेसिडेन्ट विशाल गुप्तालाई पेस्तोल दिएको उनले बताए । गुप्ताले पेस्ताले देखाएपछि सञ्जय सिंघल र निर्देशक एसपी बर्मासहितको टोलीले आक्रमण गरेको नेपालको गुनासो छ । गोली हान्न खोज्दा आफूले ज्यान जोगाएको उनले बताए ।

आरती स्ट्रिप्स भारतीय लगानीको उद्योग हो । उद्योगले जस्तापाता र पाइप उत्पादन गर्दै आएको छ । स्रोतका अनुसार केही समयअघि देखि नै नेपाल र सञ्चालकबीच विवाद हुँदै आएको थियो । सञ्चालकले नेपाललाई निकाल्न खोजेको तर उनले ठुलो रकम माग गर्दा अहिलेको घटटना भएको हो,’ स्रोत भन्छ, ‘पैसाको डिमान्ड धेरै भएपछि यतिसम्मको घटना हुन पुगेको देखिन्छ ।’ नेपालले उद्योग सञ्चालकसँग कति रकम माग गरेका थिए यकीन भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *