आयक्स अपराजित रहँदा डर्टमन्ड बाहिरियो

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा आयक्स समूह विजेता बनेको छ । बुधबार राति भएको खेलमा समूह ‘सी’ मा डच क्लब आयक्सले टर्किस क्लब बेसिक्टासमाथि २-१ को जित निकाल्दै समूह ‘सी’को विजेता बन्न सफल भएको छ।  समूहकै अर्को खेलमा भने जर्मन जाइन्ट बौरिसया डर्टमन्ड पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनसँग ३-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

समूह चरणमा रवाफिलो प्रदर्शन गर्दै आएको आयक्सले लगातार जितको शृङ्खलालाई कायम राख्ने क्रममा पुनरागमन जित निकालेको थियो । बेसिक्टासले पेनल्टी मार्फत २२ औँ मिनेटमा अग्रता लिएको थियो । घेजलले टर्किस क्लबलाई अग्रता दिलाए पनि जोगाउन भने सकेन । दोस्रो हाफमा आयक्सले सानदार पुनरागमन गर्‍यो । आयक्सका लागि दुवै गोल सेबस्टियन हेलरले गरेका थिए। उनले ५४ र ६९ औ मिनेटमा गोल गरेका थिए ।

स्पोर्टिङ भने १० खेलाडीमा सीमित भएको डर्टमन्डमाथि हाबी हुँदै नकआउटमा प्रवेश गर्न सफल रह्यो । उसका लागि  पेरिरा गोनकारभेसले २ गोल गर्दा पोरोले एक गोल गरेका थिए । डर्टमन्ड भने ७४ औ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो।  अतिरिक्त समयमा लेनले एक गोल फर्काए पनि टिमको हार टार्न भने सकेन ।

समूह सी मा आयक्सको १५ अङ्क भएको छ भने स्पोर्टिङको ९ अंक छ । डर्टमन्डको ६ अङ्क छ। त्यस्तै बेसिक्टास भने अङ्क विहीन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *