एमालेको पुनरोदयका लागि

काठमाडौँ ।

मुलुकको नजर हामीमाथि छ

नेकपा (एमाले) का लाखौं सदस्यले विभाजनको पीडा र गुटबन्दीको नसाबाट हाम्रो पार्टी ब्युँझन्छ र धुलो टक्टक्याउँदै फेरि उठ्छ, विचार तथा सिद्धान्तको आधारमा अझ बढी एकताबद्ध भएर फेरि उठ्छ भन्ने भरोसाकासाथ दशौं राष्ट्रिय महाधिवेशनतर्फ हेरिरहेका छन् ।

यसका समर्थक र शुभचिन्तकहहरूले मुलुकको नेतृत्व गर्नसक्ने पार्टीको रूपमा एमालेको पुनरोदयको विश्वास गरेका छन् । आफैँले गरेका बाचा पूरा नगरेर मुलुकको भविष्यप्रति संवेदनहीन हुँदै गएको भनेर हामीलाई दुत्कार्ने बौद्धिकहरूको ठूलो सङ्ख्या पनि आलोचनात्मक आग्रहका साथ हामीसँग आशावादी छ । अन्य पार्टीमा रहेर पनि नेकपा एमाले मुलुकको भरपर्दो शक्तिका रुपमा पुनस्र्थापित हुँदा आफ्नै भविष्य सुरक्षित देख्ने ठूलो जनमतका आँखा पनि हामीतिरै छन् ।

कम्युनिष्ट आन्दोलनको इतिहासको निर्माणमा रगत पसिना बगाएका समस्त अग्रजहरूको विरासतले पनि हामीसँग अपेक्षा गरेको छ । हाम्रा सफलतामा गौरव गर्ने र हाम्रा असफलतामा दुखी हुने दुनियाँ भरीका कम्युनिष्ट, प्रगतिशील, वामपन्थी तथा समाजिक न्याय र समानताको पक्षधरहरुले हामी फेरि उठेको र सफल हुँदै अगाडि बढेको देख्न चाहान्छन् । सङ्क्षेपमा, मुलुक र दुनियाँले केही भरोसा, केही विश्वास र केही आशाका साथ हामीलार्ई हेरिहरको छ ।

सङ्कट गहिरिँदै छ

सत्तरी वर्षदेखि नेपालको सपना लोकतान्त्रिक स्थीरता हो । तर हामीले या त अस्थीरता या निरङ्कुशता पायौँ । करिब चार वर्ष अगाडि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावी गठबन्धन, निर्वाचनमा असाधारण विजय, बहुमतको कम्युनिष्ट सरकार, पार्टी एकीकरणजस्ता एकपछि अर्को घटनाले नेपाली राजनीतिमा नयाँ आशा र विश्वास जगाएको थियो । लोकतान्त्रिक स्थीरता, आर्थिक विकास, सामाजिक न्याय र समानतासहित मुलुकले नयाँ युगमा पाइला टेक्न सक्ने भएको थियो । तर गएको एक वर्षकै समयमा हामी आफैले कम्युनिष्ट पार्टीको बहुमतको संसद् विघटन गर्‍याैँ, एकीकृत पार्टी विभाजित गर्‍याैँ, संघीय र प्रादेशिक सरकारहरु भत्कायौँ, नेकपा एमालेको एकतासमेत बचाउन सकेनौँ र अहिले हामी आफै राजनीतिक घेराबन्दीमा परेका छौँ ।

सबै राजनीतिक पार्टीहरु स्वार्थ केन्द्रित गुटबन्दीको भुवरीमा फस्दै गएको, संसद् राजनीतिक खिचातानीको शिकार भएको, अदालतमा विचौलियाको नियन्त्रणको पोल खुल्दै जाँदा न्यायव्यवस्था अस्तव्यस्त भएको हुँदा राज्य कमजोर हुँदै गएको छ र लोकतान्त्रिक स्थीरतामाथि खतरामा पर्न थालेको छ । क्रान्तिको एउटा मुख्य शक्तिका हैसियतले यो सङ्कट हाम्रो आफ्नै सङ्कट हो ।

सिद्धान्तलाई अवमूल्यन नगरौँ

अगणित पूर्खाहरूले खाएका ठक्कर र पाएका उपलब्धीको लेखाजोखा नै सिद्धान्त हो । त्यसैले क्रान्तिको पहिलो ग्यारण्टी पनि सिद्धान्त होः जसले हामीलाई भविष्यको बाटो देखाउँछ र गल्ती गर्नबाट जोगाउँछ । क्रान्तिका जतिसुकै राम्रा नारा लगाए पनि सिद्धान्तहीन राजनीति केवल स्वार्थहरूको प्रतिस्पर्धा बन्न जान्छ । जसरी पनि जित्ने प्रतिस्पर्धामा जसले जिते पनि राजनीति बिग्रन्छ, मुलुकले दुःख पाउँछ ।

त्यस्तो राजनीति राज्य दोहन गर्ने थैलीशाही गुटहरुको खेलमैदान बन्छ । दलाल पुँजीवाद र भद्दा संसद्वादले पार्टीलाई ती गुटहरूको खेलौना बनाउँछ । एउटा कमरेड अर्को कमरेडसँग तर्सिन्छ, एउटा कमरेडले अर्को कमरेडको खुट्टा तान्छ र अन्त्यतः सबै सबैसँग तर्सिने र सबैले सबैको खुट्टा तान्ने अवस्था आउँछ । र, पार्टी र राजनीति झन् झन् सङ्कटग्रस्त हुँदै जान्छन् । हाम्रो पछिल्लो राजनीतिलाई नै हेरौँ, नेपाली काङ्ग्रेसले पाएको बहुमतले मुलुकलाई के दियो ? नेकपा माओवादीले संविधान सभामा पाएको असाधारण जित किन पानीको फोका भयो ? नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गरेको दिग्विजय किन भताभुङ्ग भयो ? यस्ता प्रश्नको जवाफ केवल कुनै व्यक्ति वा तिनका गुटका दाबीमा होइन बरु कस्तो सिद्धान्त भएका पार्टीले त्यस्ता व्यक्ति वा गुट जन्माउँछन् र समाजले क्षति ब्यहोर्छ भनेर खोज्नुपर्छ ।

हरेक नयाँ चरणमा समाजले नयाँ सिद्धान्त खोज्छ । सामन्ती शासनको ठाउँमा कस्तो प्रतान्त्र भन्ने अलमललाई पुष्पलालको नयाँ जनवादले बाटो देखायो । हामी आफैँले ल्याएको २०४७ सालको प्रजातन्त्रसँग कसरी अगाडि बढ्ने भन्ने अन्यमनस्कतालाई सामना गर्न कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवाद ल्याए ।

२०६२/६३ को जनक्रान्तिलाई कसरी हेर्ने भन्ने सैद्धान्तिक अन्योललाई हामीले, नवौँ महाधिवेशनले हटायो । नेपाली समाज पुँजीवादी भएको, जनवादी क्रान्ति सम्पन्न भैसकेको, त्यसैले नेपाली क्रान्तिले समाजवादको बाटो लिएको तर पुँजीवादको मुख्य चरित्र दलाल रहेको हुँदा राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु नेपाली कम्युनिष्टहरुको ऐतिहासिक कार्यभार हो भन्ने सैद्धान्तिक निष्कर्ष हाम्रो आन्दोलनको ऐतिहासिक उपलब्धी हो । स्मरण रहोस्, त्यहि निष्कर्षका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता सम्भव भएको थियो । तर त्यस कार्यभारलाई कार्यक्रमको रुपमा व्याख्या गर्न नसक्दा हाम्रो कम्युनिष्ट आन्दोलन सैद्धान्तिक रुपले नवौँ महाधिवेशनभन्दा अघि बढ्न सकेको छैन । सङ्क्षेपमा, सिद्धान्तले हामीलाई अगाडि बढाउँछ, सिद्धान्तहीनताले फुटाउँछ, कमजोर बनााउँछ ।

कहाँ छ त समस्या ?

हामीले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र समानता, रोजगारी, सुशासन, पर्यावरण, विदेश सम्बन्धमा कस्ता नीति बनाउँछौँ, कसरी लागु गर्छौँ जसले राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी हुन्छ भन्ने समग्र योजना नै पार्टीको आजको कार्यक्रम हो । त्यस्तो कार्यक्रम लागु गर्न पार्टीका केन्द्रिय अध्यक्षदेखि हरेक सदस्यको योग्यता कस्तो हुन्छ ? तिनको योग्यताको परिक्षण कसरी हुन्छ ? आफ्नो सरकार हुँदा प्रधानमन्त्री, मन्त्रीहरुले के गर्छन् ? कसरी गर्छन् ? प्रादेशिक सरकार र स्थानीय सरकारहरुले के गर्छन् ? पार्टीका नीतिहरु कसरी बनाइन्छ ? कस्ता व्यक्तिहरु पार्टी सदस्यताका लागि योग्य हुन्छन् ? कमिटीका निर्वाचन कसरी गरिन्छ ? जस्ता सबै समस्याको समाधान सङ्गठनात्मक सिद्धान्तले गर्छ र त्यसका आधारमा पार्टीको विधान बन्छ । यसरी कार्यदिशा, कार्यक्रम, सङ्गठनात्मक सिद्धान्त र विधानको सङ्गतिपूर्ण पार्टी व्यवस्था बन्छ । हामीले कार्यदिशा त बनायौँ तर कार्यक्रम अझैसम्म बनाएनौँ । कार्यक्रम नबनेपछि कार्यक्रमलाई लागू गर्ने सङ्गठनात्मक सिद्धान्त र विधान पनि बनाइएन । अर्थात्, आज हामीले समाजवादको झण्डा त बोकेका छौँ तर कता हिँड्दै छौँ भन्ने स्वयं हामीलाई थाहा छैन । समस्याको जरो यहिँ छ ।

उपरोक्त असङ्गतिले गर्दा संसद, पार्टी, सरकार र राजनीतिले एकपछि अर्को धक्का खाँदै गयो । राष्ट्रिय पुँजीको विकास वा समाजवादको बुझाई व्यक्तिपिच्छे फरक भए । गएको ८/९ वर्ष पार्टीको नीति–कार्यक्रममाथि कुनै प्रशिक्षण कार्यक्रम आयोजना भएन । विचार/सिद्धान्त वा माक्र्सवाद वा जनताको बहुदलीय जनवादमााथि कुनै गतिलो चर्चासमेत भएन ।

दलाल पुँजी वा राष्ट्रिय पुँजी के हो ? दलाल पुँजीसँग को लड्छ ? कसरी लडिन्छ ? समाजवादको तयारी भनेको के हो ? त्यसका लागि कसले के गर्नु पर्नु हा ? सिद्धान्त निर्माण गर्ने विधि के हो ? सिद्धान्त कसले बनाउँछ ? कसरी बनाउँछ ? जस्ता प्रश्न नै उठ्न छोडे । त्यसले पार्टी पङ्तिले के ठिक वा के गलत हो भनेर विश्लेषण सकेन ।

अराजकता र गुुटबन्दी बढ्दै गयो । नेताहरूका स्वार्थको छद्म युद्धमा पार्टी फस्यो । त्यही छद्म युद्धमा संसद् विघटन, पार्टी विभाजन, सरकारहरूकाे विघटन हुँदै गयो । किटानीका साथ के भन्न सकिन्छ भने यदि यी कमजोरीलार्ई नसुधार्ने हो भने गल्ती दोहरिँदै जानेछन् र समयले हामीसँग चर्को ब्याजका साथ सिद्धान्तमा खेलबाडको मूल्य चुक्ता गर्नेछ ।

मेरो अनुरोध

मूलभूत सैद्धान्तिक दिशाका हिसाबले नेकपा एमाले ठिक ठाउँमा छ । त्यो अहिले सबै मुख्य पार्टीहरुको पनि कार्यदिशा बनेको छ । सङ्गठनका हिसाबले नेकपा एमालेको अर्को कुनै जोडा छैन । इतिहासको गौरव र राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिष्ठाका हिसाबले पनि हामी अतुलनीय छौँ । समाज र राजनीतिका विभिन्न क्षेत्रमा नेतृत्व गरिरहेका यसका सदस्यहरुका आधारमा हेर्दा पनि नेकपा एमाले मुलुककै नेता पार्टी हो । तर, माथि उल्लेख गरिएझैँ, आजको ठोस कार्यक्रम र त्यस कार्यक्रमलाई कार्यान्वयन गर्र्ने सङ्गठनात्मक व्यवस्थामा असङ्गतिहरु छन् ।

जसरी ज्ञान–विज्ञानका उपलब्धी कुनै राष्ट्र वा जातीका सम्पत्ति हुँदैनन्, त्यसैगरी पार्टीका सिद्धान्तहरु कुनै गुट वा समूहका हुँदैनन् । जेसुकै कारणले होस्, हामीले दशौँ महाधिवेशनमा यी विषयमा आवश्यक छलफल गर्न नसक्ने भयौँ । तर पार्टीका सिद्धान्तहरुको निर्माणमा अगाडि रहेर करिब दुई दशकदेखि क्रियाशील सदस्यको हिसाबले मेरो के दाबी छ भने नेकपा एमालेको पुनरोदयका लागि ती असङ्गति हटाउनै पर्नेछ, त्यसका आधारमा कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्नै पर्नेछ । त्यसैले, सबै प्रतिनिधि समक्ष मेरो अपील छ: दशौँ महाधिवेशनले कम्तिमा पनि दलाल पुँजीवादको विरुद्ध राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने ठोस कार्यक्रमका बनाउन सङ्कल्प गरोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *