चार महिनामै बाहिरियो साढे ६ खर्ब, आयात ६१ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ४ महिना (कात्तिकसम्म) मा नेपालले ६ खर्ब ५० अर्ब २९ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

यो उच्च आयात हो । गत आर्थिक वर्ष यही अवधिमा नेपालको बस्तु आयात ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँको थियो । गत वर्षको तुलनामा चालू वर्षको आयात ६१.५७ प्रतिशतले बढेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार निर्यात भने घट्दो क्रममा देखिएको छ । यो अवधिमा नेपालले ८२ अर्ब १२ करोड ४२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । अघिल्लो वर्ष यही अवधिको तुलनामा यो १०४.२९ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा नेपालको निर्यात ४० अर्ब २० करोड रुपैयाँको भएको थियो ।

यो अवधिमा नेपालले कुल ७ अर्ब रुपौयाँभन्दा बढीको वैदेशिक व्यापार गरेको छ । यो हालसम्मकै उच्च हो । निर्यातको तुलनामा वस्तु आयातको उच्च बढोत्तरीले नेपालको व्यापारघाटा समेत चुलिएको छ ।

चालू वर्षको ४ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ५ अर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ५६.८३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष यही अवधिमा नेपालीको व्यापार घाटा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ रहेको थियो ।

चालू वर्षको ४ महिनामा बस्तु आयातबाट राज्यले १ खर्ब ७२ अर्ब ६२ करोड २९ लाख रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ ।

साढे ३४ अर्बको डिजेल अयात

नेपालको सबैभन्दा बढीको आयात डिजेलबाट भएको छ । यस अवधिमा ३४ अर्ब ३३ करोड २१ लाख रुपैयाँको बराबरको ४ लाख ६४ हजार किलोलिटर डिजेल आयात गरेको छ ।

त्यस्तै कच्चा भट्मासको तेल २७ अर्ब २२ करोड ७१ लाख रुपैयाँ बराबरको १७ करोड ३८ लाख ८ हजार लिटर आयात गरेको छ । यद्यपी, भटमासको कच्चा तेल आयात भएकै परिमाणमा प्रशोधित तेल निर्यात समेत हुने गरेको छ ।

यस अवधिमा २० अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बराबरको मोबाइलफोन, १९ अर्ब १७ करोड ५७ लाख रुपैयाँको कच्चा पाम आयल, १८ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको पेट्रोल, १७ अर्ब ६६ करोड ४० लाख रुपैयाँको आइरन, स्टिल, १७ अर्ब ४३ करोड १७ लाख रुपैयाँ बराबरको एलपीजी ग्यास, १४ अर्ब ९५ करोड ५० लाख बराबरको सुन र १२ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको चाँदी आयात भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *