प्रचण्डको प्रश्न- … अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैलाई गठबन्धन चाहिने बताएका छन् । बिहान कैलालीको धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले गठबन्धन आवश्यक रहेको बताएका हुन् ।

काँग्रेसका नेताहरूले गठबन्धन आवश्यक नरहेको बताउन थालेका छन् । एमालेसँग एक्लै लड्ने आट नगर्नु भएको हो ? भन्ने प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले, ‘होइन, त्यस्तो छैन । कोही-कोहीलाई के लाग्दै छ भने अब महाधिवेशन आएको छ । कोहीलाई लाग्छ गठबन्धन बलियो बनाएर जाने भन्यो भने भेट धेरै आउँछ कि महाधिवेशनमा, कोहीलाई विरोध गर्‍यो भने भने भोट आउँछ कि भनेर भन्या हो । भित्र सबैको एउटै छ ।’

उनले गठबन्धन चाहिने कुरामा जोड्दिए । ‘गठबन्धन तोड्ने त्यस्तो नि कहीँ हुन्छ र ? गठबन्धनले मजाले प्रधानमन्त्री हुन पाइएको छ । मन्त्री बन्न पाइया छ । सरकार चलाउन पाइया छ । अनि गठबन्धन टिक्दैन भन्ने हुन्छ ? त्यो कहीँ कतै मिल्ने कुरै हैन नि त्यो,’ उनले भने । सङ्घीय सरकारमा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एस लगायतका पाँच दलको गठबन्धनको सरकार रहेको छ ।

साथै अध्यक्ष प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् । उनले प्रदेश सरकारलाई तदारुकताका साथ काम गर्न आग्रह गरे ।

तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने उनको भनाई छ । उनले यस विषयमा प्रधानमन्त्री देउवासँग छलफलसमेत भइरहेको बताए । ‘निर्वाचनको विषयमा प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष प्रचण्ड भने, ‘सबै तहसँग छलफल गरेर उपयुक्त निष्कर्षमा पुगिने छ ।’

पटक पटक चुनाव गर्दा राज्यलाई खर्च भार बढी हुने र झन्झट पनि हुने भएकाले सबै चुनाव एकैपटक गर्नुपर्ने माग आउन थालेको उनले बताए । प्रचण्ड भजनी नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्न कैलाली आएका हुन् । साथै उनी यहाँ पार्टीले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *