निधनको एक वर्षपछि म्याराडोनामाथि बलात्कारको आरोप

काठमाडौँ । महान फुटबलर डिएगो म्याराडोनाको मृत्यु भएको करीब एक वर्षपछि एक महिलाले उनीमाथि बलात्कारको आरोप लगाएकी छन् । अर्जेन्टिनाका लिजेन्ड फुटबलर म्याराडोनामाथि क्युबाकी नागरिक मैविस अलवारेजले बलात्कारको गम्भीर आरोप लगाएकी हुन् । उनले पत्रकार सम्मेलनमा भनिन्‚ ‘म १५ वर्षको हुँदा म्याराडोनाले मेरो बलात्कार गर्दै मेरो बाल्यकाल उजाड बनाए, साथै मलाई कोकिनको लतमा समेत पारे ।’

उनले म्याराडोनासँगको आफ्नो तस्बिर देखाउँदै कुटपिटसमेत गर्ने गरेको आरोप लगाइन् ।

दुई बच्चाकी आमा ३७ वर्षीय मैविस अहिले मियामीमा बस्छिन् । उनका अनुसार २० वर्षअघि उनी र म्याराडोनाबीच भेट भएको थियो ।

त्यसबेला उनी नाबालिग थिइन् । १५ वर्षको उमेरमा उनले क्युबामा म्याराडोनालाई भेटेकी थिइन् । उनले म्याराडोनासँग धेरै प्रभावित भएका कारण उनको नजिक पुगेको बताइन् । म्याराडोना भने ४० वर्षका थिए । उनी क्युबामा ड्रग लतको उपचारका लागि आएको उनले बताइन् ।
म्याराडोनाको टीमले भने उनले लगाएको आरोपको खण्डन गरेको छ । आफ्नो वकिलमार्फत उनले म्याराडोनाको बदनामका लागि अनेकौँ आरोप लगाएको भन्दै टीमले खण्डन गरेको छ ।

म्याराडोनाले १९८६ मा फुटबल विश्वकप जित्दा अर्जेन्टिनाका महत्वपूर्ण खेलाडीका थिए । त्यो विश्वकपमा इंग्ल्यान्डसँगको खेलमा उनले हातले गोल गरेका थिए । उक्त गोललाई ‘ह्यान्ड अफ गड’को उपमासमेत दिइएको थियो । म्याराडोना ३० अक्टोबर १९६० मा अर्जेन्टिनाको ब्युनर्स आयर्समा जन्मिएका थिए । ६० वर्षको उमेरमा २५ नोभेम्बर २०२० मा उनको निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *