कांग्रेस सभापतिमा मेरो उम्मेदवारी किन ?

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भावी सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । सभापति शेरबहादुर देउवाका विश्वासपात्रका रूपमा रहँदै आएका निधिले फेरि पनि देउवा नै सभापतिको आकाङ्क्षी बन्ने तयारी गरेपछि छुट्टै सभापतिको उम्मेदवारी दिने घोषणा गरेका हुन् । यसै क्रममा निधिले संक्षिप्त घोषणा पत्र सार्वजनिक गरेका छन् ।

घोषणा निधिले पत्रमा आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतका साथ विजयी गराउन, कांग्रेसमा रूपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न आफूले उम्मेदवारी दिन लागेको बताएका छन् । उनले जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन र देशको भौगोलिक विविधता अनुरूप हिमाल, पहाड, तराई-मधेस, पश्चिमदेखि पूर्वका सबै जनताको भावनात्मक रूपमा जोड्न पनि आफू उम्मेदवार बन्न लागेको दाबी गरेका छन् ।

के-के छन् त उनको घोषणापत्रमा :-

  • आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउन ।
  • नेपाली कांग्रेसमा रूपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न,
  • नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराई नेतृत्व विकास गर्न ।
  • राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्म निरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहना अनुसार सफल कार्यान्वयन गर्न ।
  • जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन ।
  • देशको भौगोलिक विविधता अनुरूप हिमाल, पहाड, तराई-मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्न ।
  • जातीय, सांस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारु, खस–आर्य, अल्पसङ्ख्यक, अपाङ्गता भएका, पिछडिएका क्षेत्र तथा तेस्रो लिङ्गी लगायत सबैलाई सम्मानका साथ नेपाली कांग्रेसमा सक्रिय गराउन र समुदायका बीच सद्भाव कायम गर्न ।
  • भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा विशेष सक्रिय गराई वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउन ।
  • नेपाली कांग्रेसमा रहेर योगदान गर्नुभएका अग्रजहरूको सम्मान, सहिदहरूको स्मृतिसम्मान, समकालीन साथीहरूको संरक्षण र नयाँ पुस्ताको विकास तथा प्रवर्द्धनका साथ कांग्रेसलाई गतिशील र व्यवस्थित पार्टीको रूपमा विकसित गर्न ।
  • लोकतान्त्रिक आन्दोलनका सहिदहरू, सहिद परिवार, घाइते र विस्थापित हुनुभएका नेपाली कांग्रेसका साथीहरूलाई उचित सम्मान गर्न र हिंसापीडित पार्टीका साथीहरूलाई न्याय प्रदान गर्न ।
  • नेपाली कांग्रेसका सदस्य साथीहरूलाई उद्यमशील, कर्मशील, आत्मनिर्भर र स्वरोजगार बनाउन ।
  • पार्टीका सदस्यहरूमा पठनपाठन संस्कृतिको विकास गरी वडा तहदेखि जिल्ला तहमा समेत कांग्रेस पुस्तकालय स्थापना गरी पार्टी साहित्यलाई सम्पूर्ण तहमा पुर्‍याउन ।
  • संविधानमा उल्लेख भएका तर कार्यान्वयन हुन नसकेका नेपाल प्रहरी र निजामती सेवासम्बन्धी प्रदेशको अधिकार स्थापित गर्न तथा भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गराउनका लागि ।
  • नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई संस्थागत विकास गरी अनुसन्धानलाई महत्त्व दिँदै सूचना प्रविधिको प्रयोग समेतलाई समावेश गरी वडा तहसम्म प्रशिक्षण गर्न ।
  • नेपाली कांग्रेसको केन्द्रसहित सबै तहका सचिवालयलाई चुस्त र व्यवस्थित गर्न ।
  • पार्टीभित्र विकसित गुट-उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरूलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउन ।
  • विशेष गरी युवाहरूलाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्न ।
  • सम्पूर्ण तहका साथीहरू र सबै तहका कार्यक्रमहरूको अभिलेखीकरण र मूल्याङ्कन गरी नेपाली कांग्रेसभित्र अन्याय हुन नदिन तथा विभेदको अन्त्य गरी बन्धुत्वपूर्ण संस्कृति विकास गर्न ।
  • संविधान संशोधनको विषयमा पार्टीको आधिकारिक निर्णयलाई कार्यान्वयन गराउन ।
  • सोसलिष्ट इन्टरनेशनलसहित नेपाली कांग्रेसले समान विचारधारा र नेपालको हित चाहने विभिन्न देशका राजनीतिक दलहरूसँग मैत्रीपूर्ण सम्बन्ध विकसित गर्न ।
  • छिमेकी मित्र राष्ट्रहरू भारत र चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउन र नेपालका सहयोगी अन्य सबै राष्ट्रहरूसँग सुमधुर सम्बन्ध विकास गर्न ।
  • जनतासँग कांग्रेस र कांग्रेससँग जनतालाई साँचो अर्थमा आबद्ध गर्न ।
  • मतदातासँग रूख चिन्ह र रूख चिन्हसँग मतदातालाई बलियोसँग जोड्न ।

तपाईँहरूको साथी
विमलेन्द्र निधि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *