महाधिवेशनबारे छलफल गर्न खोज्दा कसैले रुचि देखाएनन् : रावल

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवशेनका विषयमा छलफल गर्न खोज्दा पार्टीभित्र कसैले पनि रुचि नदेखाएको गुनासो गरेका छन् ।

सोमबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले उपाध्यक्षको हैसियतले आफूले १० औँ महाधिवेशनको प्रक्रियाका विषयमा अध्यक्ष केपी ओली र स्थायी कमिटी बैठकमा छलफल गर्न चाहे पनि कसैले रुचि नदेखाएको गुनासो गरेका हुन् ।

यसअघि महाधिवेशनको एक दुई महिनाअघि नै उम्मेदवारका विषयमा छलफल हुने भएपनि यसपटक त्यसो हुन नसकेकाले लक्ष्य र उद्देश्य स्पष्ट पारेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको उनले बताए ।

उनले राष्ट्र र एमालेलाई बलियो बनाउँदै आगामी चुनावमा विजयी गराउन आफ्नो भूमिका हुने जिकीर गरे । यसपटक पार्टीले नै समूहगत रुपमा उम्मेदवारी नदिने निर्णय गरेकाले आफूले एक्लै उम्मेदवारी दिएको भन्दै रावलले पार्टी रुपान्तरणमा लाग्ने सबैले साथ दिने दाबी गरे ।

एमालेको स्थायी कमिटी बैठकका लागि रावललगायतका नेताहरू तुलसीलाल स्मृति प्रतिष्ठानमा पुगेका थिए‚ तर एमाले अध्यक्ष केपी ओली बिरामी भएका कारण बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *