शीर्ष स्थानमा उक्लियो रियल

काठमाडौँ । स्पेनिस लालिगामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । उपाधि होडमा दाबेदार रहेको रियल आइतबार राति भएको खेलमा ग्रानाडालार्ई उसैको मैदानमा ४-१ ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिन सफल रह्यो ।

दोस्रो हाफमा १० खेलाडीमा समेटिएको ग्रानाडामाथि फराकिलो जित निकाल्न रियलका मार्को असेन्सियो, नाचो फर्नान्डेज, भिनिसियस जुनियर र फर्लान्ड मेन्डीले गोल गरे। ग्रानाडाका लुइस सुआरेजले सान्त्वना गोल फर्काए । एकपक्षीय खेलमा रियलले १९औं मिनेटमा पहिलो गोल गरेको थियो । असेन्सियोले टोनी क्रुसको पासमा गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाए ।

२५औं मिनेटमा नाँचोले टोनी क्रुसकै पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । त्यसपछि ३४औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै ग्रानाडालाई खेलमा फर्काउने प्रयास गरे । उनले म्याक्सिमे गोनालोन्सको पासमा गोल गरेका थिए । तर ५६औं मिनेटमा भिनिसियसले लुका मोड्रिचको पासमा गोल गर्दै रियलको अग्रता थप बलियो बनाए ।

ग्रानाडा ६७औं मिनेटमा १० खेलाडीमा समेटियो । रियलका भिनिसियसलाई फल गरेपछि मोन्चु सोझै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । मोन्चुको कार्डलाई लिएर रेफ्रीविरुद्ध खनिएका ग्रानाडाका प्रशिक्षक रोवर्ट मोरेनोलाई पनि दुई मिनेट लगतै रातो कार्ड देखाउँदै रेफ्रिले टच लाइन बाहिर पठाए ।

ग्रानाडाका खेलाडी र प्रशिक्षकले रातो कार्ड पाएपछि केही बेर तनावपूर्ण बनेको खेलमा रियलले पुनः ७६औं मिनेटमा मेन्डीको गोलमा अग्रता फराकिलो पार्‍यो ।

जितसँगै शीर्षस्थानमा उक्लिएको रियलले दोस्रो स्थानमा रहेको रियल सोसिडाडलाई एक अङ्कले पछि पारेको छ । रियलको १३ खेलबाट ३० अंक छ । १४ खेल सकेको सोसिडाडको २९ अंक छ । घरेलु मैदानमा आइतबार राति नै भएको खेलमा भ्यालेन्सियासँग गोलरहित बराबरीमा रोकिएपछि सोसिडाडले शीर्षस्थान गुमाएको हो । लिगमा तेस्रो स्थानमा रहेको सेभियाको २८ अंक छ। रियलसँग पराजित ग्रानाडा ११ अंक सहित १८औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *