आज रोहितले तोड्लान् त विराटको रेकर्ड !

काठमाडौँ । कोलकातामा आज भारत र न्युजिल्यान्डबीच शृंखलाको तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेल हुँदैछ । भारतले यसअघिका दुई खेल जित्दै शृंखला आफ्नो बनाइसकेको छ । कप्तान रोहित शर्माका लागि आज क्लीन स्वीपको अवसर रहँदा किवि टीम भने त्यसलाई टार्ने प्रयासमा हुनेछ ।

रोहितका लागि आजको खेल आफूले कप्तानी गरेको पहिलो शृंखला नै क्लीन स्वीप गर्ने गौरवपूर्ण अवसरमात्र होइन‚ व्यक्तिगत प्रदर्शनमा कीर्तिमान राख्ने अर्को मौकाका रुपमा समेत रहेको छ ।

टी-ट्वेन्टी अन्तरराष्ट्रियमा सर्वाधिक रन बनाउने भारतीय खेलाडी बन्न रोहितलाई थप ८७ रनको खाँचो छ । आजको खेलमा ८७ रन बनाए उनी विराट कोहलीलाई पछि पार्दै सर्वाधिक टी-ट्वेन्टी रन बनाउने भारतीय खेलाडी बन्नेछन् ।

टी-ट्वेन्टी अन्तरराष्ट्रियमा सर्वाधिक रन भने न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलको नाममा छ । उनले ३ हजार २ सय ४८ रन बनाएका छन् । कोहलीले ३ हजार २ सय २७ रन बनाउँदा रोहित ३ हजार १ सय ४१ रनका साथ उनलाई पछ्याइरहेका छन् ।

यतिमात्र होइन रोहित अर्को कीर्तिमानको पनि नजिक छन् । आज ३ छक्का प्रहार गरे उनी टी-ट्वेन्टी अन्तरराष्ट्रियमा भारतका लागि १५० छक्का प्रहार गर्ने पहिलो खेलाडी बन्नेछन् । उनले १४७ छक्का प्रहार गरिसकेका छन् । सर्वाधिक छक्काको कीर्तिमान भने मार्टिन गुप्टिलको नाममा छ । उनले १६१ छक्का प्रहार गरेका छन् । यस्तै क्रिस गेलले १२४ टी-२० छक्का प्रहार गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *