इंग्लिस प्रिमियर लिग

चेल्सी र लिभरपुल लयमा रहँदा युनाईटेड फेरि पराजित

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलमा जारी सिजन चेल्सीले आफ्नो सानदार प्रदर्शन कायम राख्दा उसलाई लिभरपुलले पछ्याइरहेको छ । यस्तोमा म्यानचेस्टर युनाइटेडको खराब लय भने जारी छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले लेस्टरलाई ३-० ले हराउँदा लिभरपुलले आर्सनलमाथि ४-० को जित निकाल्यो । यद्धपि म्यानचेस्टर युनाईटेड भने वाट्फोर्डसँग ४-१ को फराकिलो हार भोग्न बाध्य भयो ।

वाट्फोर्डको मैदानमा भएको खेलमा घरेलु टोलिले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफको इन्जुरी समयमा थप दुई गोल गर्‍यो । २८ औँ मिनेटमा जोसुवा किंगले पहिलो गोल गर्दा ४४ औँ मिनेटमा स्मालिया सारले दोस्रो गोल गरे ।

यद्धपि दोस्रो हाफमा म्यानचेस्टर युनाइटेडले पुनरागमनको प्रयास गरेको थियो । ५० औँ मिनेटमा भान डी बीकले युनाईटेडलाई २-१ को अवस्थामा ल्याए । तर ६९ औँ मिनेटमा ह्यारी मागुइरी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडीका कारण दबाबमा परेको युनाईटेड इन्जुरी समयमा थप दुई गोल खान पुग्यो ।

वार्टफोर्डका जोओ पेड्रोले थप गरिएको दोस्रो मिनेटमा गोल गर्दा डेनिसले छैंटौं मिनेटमा टीमका लागि चौथो गोल सम्भव बनाए । पराजित भएको युनाइटेड १२ खेलबाट १७ अंकसहित सातौँ स्थानमा झरेको छ। वाट्फोर्ड १३ अंकसहित १६ औँ स्थानमा रहेको छ ।

चेल्सीको लय कायमै
शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको चेल्सीले लेस्टर सिटीमाथि ३-० को जित दर्ता गर्दै आफ्नो सानदार लय कायम राखेको छ । लेस्टरकै मैदानमा चेल्सीलाई रवाफिलो जित दिलाउन रुडिगर, कान्टे र पुलिसिकले गोल गरे । शीर्ष स्थानमा रहेको चेल्सीले १२ खेलबाट २९ अंक बनाएको छ ।

त्यस्तै लिभरपुलले पनि आफ्नो उच्च प्रदर्शन कायम राख्यो । लिभरपुलले आर्सनलमाथि ४–० को प्रभावशाली जित निकाल्दै २५ अंक बनाएर चेल्सीलाई पछ्याइरहेको छ। लिभरपुलको जितमा साडियो माने, जोता र मोहमद्ध सलाह र मिनामिनोले गोल गरेका थिए । मानेले ३९ औं मिनेटमा पहिलो गोल गर्दा बाँकी थप गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

त्यस्तै एस्टन भिल्लाले ब्राइटनलाई २-० ले पराजित गर्दा नर्विचले साउथह्याम्पटनलाई २–१ तथा वुल्भ्सले वेष्टह्यामलाई १-० ले पाखा लगायो । त्यस्तै बर्नली र क्रिष्टल प्यालेस तथा न्यूक्यासल र ब्रेन्टफोर्डले समान ३-३ को बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *