शहीद स्मारक लिग: पुरानो इतिहास तर अस्थिर

काठमाडौँ । नेपाली लिग फुटबलको इतिहास निकै पुरानो छ । राणाहरूको रजगज रहेकै बेला नेपालमा फुटबलको चासो बढेको देखिन्छ । शासकहरूले नै फुटबललाई मन पराउँदा यसको विरासत झनै गौरवपूर्ण बन्यो ।

वि. सं १९९० को ‘महाभूकम्प’पछि ‘रामजानकी ट्रफी’ प्रतियोगिता लिगको आधारमा सुरु गरिएको थियो । उक्त ट्रफी वि. सं. २००७ पछि तत्कालीन रक्षा दल (हालको नेपाल पुलिस क्लब) ले लगातार तीन पटक जित्दै आफ्नो बनायो ।

त्यसपछि लिगलाई अघि बढाउने विषयमा कुरा भयो । रक्षा दलभित्र रामजानकी ट्रफिलाई ‘शहीदको सम्मानमा’ शहीद स्मारक लिग राख्ने प्रस्ताव गरियो । राणा विरोधी आन्दोलनबाट भर्खरमात्र प्रजातन्त्र स्थापना भएको समयमा त्यो प्रस्ताव सर्वसम्मत बन्यो । अनि शुरु भयो शहीद स्मारक लिग ।

वि. सं. २००८, २००९ र २०१० मा लगातार रक्षा दलले ‘रामजानकी ट्रफि’ जितेपछि त्यसको अर्को वर्ष (वि. सं. २०११) बाट औपचारिक रूपमा ‘शहीद स्मारक लिग’को सुरुवात भयो । प्रतियोगिताको ट्रफि तत्कालीन प्रहरीहरूबाट रकम उठाएर तयार गरिएको मानिन्छ । उक्त ट्रफी हालसम्म १५ क्लबले जितिसकेका छन् । जसमध्ये केही क्लब त अहिले अस्तित्वमै छैनन् । लिगको उपाधि भने सर्वाधिक पटक भने मनाङ मर्स्याङ्दी क्लबले जितको छ।

फर्म्याट फेरेको फेर्‍यै
पुराना इतिहासका किस्साहरू धेरै सुन्न पाइन्छ । यसको अभिलेख भने खासै पाइँदैन । वि. सं. २०११ देखि २०३० सम्म प्रतियोगिताको आयोजना भएपनि त्यतिबेला प्रतियोगिता के कसरी भएको थियो भन्ने अभिलेख छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसलाई निरन्तरता दिएको सम्म खुल्छ ।

एन्फाकै आयोजनामा भएका प्रतियोगितामा पनि तत्कालीन समयको अभिलेख छैन । यद्यपि २०४३ सालयताका तथ्याङ्क खोजी गर्दा केही मात्र पाइन्छ । तर आधुनिक रूपमा वि. सं. २०४६ पछि भने लिगका धेरै तथ्याङ्क संस्थागत रूपमै भेटिन्छन् । ०४६ मा ११ टिमले प्रतिस्पर्धा गरेको अभिलेख पाइएकाले यसैलाई आधिकारिक रूपमा आधुनिक लिगको सुरुवातका रूपमा लिइन्छ। यद्यपि लिगको स्थायित्व भने थिएन ।

त्यसपछि ६ वर्ष प्रतियोगितै भएन । एकैपल्ट वि. सं. २०५२ मा पुनः लिग भयो । जसमा नयाँ प्रयोगको प्रयास गरियो । जहाँ सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो। वि. सं. २०५२-२०६२ सम्म लिगहरू स्थगित हुँदै सञ्चालन हुँदै आए । जुन लिगको जस्तो ‘फर्म्याट’मा पनि भएनन् । संधैजसो कुनै न कुनै प्रयोग मात्र गरियो । जुन प्राय: परिणामविहीन बन्यो ।

२०६२ को लिगमा पहिलोपल्ट डबल लिग भयो । सहभागी टिमको संख्या १५ थियो । अनि पहिलोपल्ट दुई टिम रेलिगेसनमा परे। २०६३ को संस्करण पनि डबल लिग नै रह्यो । यद्यपि टीम संख्या भने १४ मा पुर्‍याइयो । लिगको उतारचढाव जारी रह्यो। २०६६-०६७ मा पुन १२ टिममा झारियो । फेरि २०६८ मा १८ टिम पुर्‍याइयो । जुन सिंगल लिगका आधारमा सञ्चालन गरियो ।

त्यसपछि पनि प्रयोग निरन्तर जारी नै रह्यो । २०६९ को लिगमा १६ टिम रहे भने २०७० मा १३ टिम । यसमध्ये २०६९ को संस्करणमा सुपर ८ को अवधारणा ल्याइयो । अनि २०७० मा सुपर सिक्स । त्यसपछि पुनः लामो समय लिग हुन सकेन । पुन वि. सं. २०७५ को लिगमा सहभागी टिम संख्या १४ पुर्‍याइयो। यद्यपि यो लिगमा रेलिगेसनको व्यवस्था हटाइयो। २०७६ को लिगमा १४ टिम सहभागी थिए। जहाँ एक टिम रेलिगेसनमा पर्‍यो ।

यसपटक पनि १४ टिमले प्रतिस्पर्धा गर्नेछन् । अनि दुई टिम रेलिगेसनमा झर्ने नियम बनाइएको छ । सधैँ अस्थिर रहने लिगको संरचना कहिलेबाट स्थायित्व पाउने हो यो शायद एन्फालाई पनि थाहा छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *