देशभरका वडामा नेतृत्व चयन गर्दै माओवादी केन्द्र

काठमाडौँ । माओवादी केन्द्रले पुसमा राष्ट्रिय सम्मेलन गर्ने कार्य तालिकाअनुसार आज देशभर वडा सम्मेलन गर्दै छ । सदस्यता नवीकरण सकेर माओवादीले तल्ला तहका अधिवेशन प्रक्रिया सुरु गरेको हो ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट बिहान ११ बजे अधिवेशनको उद्घाटन गर्नेछन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख श्रेष्ठले वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । देशभर ६,७४३ वटा वडा छन् । माओवादी केन्द्रले सबै वडामा एकै दिन नेतृत्व चयन गर्न लागेको हो । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाइएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता कृष्णबहादुर महराले विभाजित नभई वडा सम्मेलनमा सहभागी हुन अपिल गरेका छन् । ‘हाम्रो पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान्, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने एवं रूपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दै सम्मेलन शुभकामना व्यक्त गर्दछ’ महराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै मङ्सिर ११ गते सबै पालिकाहरूमा र मङ्सिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ । आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरू समेत गठन गरेको छ ।

सकेसम्म सर्वसम्मत, नभए निर्वाचन
माओवादी केन्द्रले नेतृत्व चयनका सन्दर्भमा सकेसम्म सर्वसम्मत गर्ने नभए मात्रै निर्वाचनको प्रक्रियामा जाने नीति लिनेछ । नेतृत्व चयनमा गर्ने विधि र प्रक्रियाबारे नीति कस्तो छ ? भन्ने प्रश्नमा केन्द्रीय निर्वाचन आयोगका प्रमुख श्रेष्ठले भनेका छन्, ‘सर्वसम्मत नेतृत्व चयन भयो भने निर्वाचन समितिले विधि प्रक्रिया पूरा गर्दछ । यदि सर्वसम्मत भएन भने निर्वाचन प्रक्रियामा जान्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *