देशैभर माओवादीको वडा सम्मेलन, कार्यकर्तालाई विभाजित नहुन अपिल

काठमाडाैँ । शनिवार माओवादी केन्द्रको वडा सम्मेलन देशभर हुँदैछ । शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हाे । माओवादी केन्द्रले देशभरका ६ हजार ७४३ वटा वडामा एकैदिन नेतृत्व चयन गर्न लागेको हो ।

यसैबीच प्रवक्ता कृष्णबहादुर महराले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभाजित नभइ वडा सम्मेलनमा सहभागी हुन कार्यकर्तालाई भनेका छन् । ‘हाम्रो पार्टीको वडा सम्मेलनमा कुनै पनि विभाजित मनोविज्ञान् एवं मानसिकता नराखि एकताबद्ध भएर सर्वहारा वर्गप्रति निष्ठावान्, जनताप्रति उत्तरदायी र समाजवादी क्रान्तिको यात्रामा लाग्न सक्ने एवम् रुपान्तरित पार्टी निर्माणमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दै सम्मेलन शुभकामना व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यसैगरी, मंसिर ११ गते सबै पालिकामा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुने माओवादी केन्द्रले जनाएको छ । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११, १२ र १३ गते काठमाडौँमा हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि प्रदेशमा ७ सदस्यीय, पालिकामा ५ सदस्यीय र वडा तहमा ३ सदस्यीय निर्वाचन समितिहरु समेत गठन गरेको छ ।

नेतृत्व चयन सकेसम्म सर्वसम्मत, नभए निर्वाचन

माओवादी केन्द्रले नेतृत्व चयनका सन्दर्भमा सकेसम्म सर्वसम्मत गर्ने नभए मात्रै निर्वाचनको प्रक्रियामा जाने नीति लिने जनाएको छ ।

नेतृत्व चयनमा गर्ने विधि र प्रक्रियाबारे नीति कस्तो छ ? भन्ने पत्रकाहरुको प्रश्नमा केन्द्रीय निर्वाचन आयोगका प्रमुख प्रमुख विष्णुपुकार श्रेष्ठले भने, ‘सर्वसम्मत नेतृत्व चयन भयो भने निर्वाचन समितिले विधि प्रक्रिया पूरा गर्दछ । सर्वसम्मत भएन भने निर्वाचन प्रक्रियामा जान्छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *