मन्त्री श्रेष्ठकाे दाबी:

‘एमाले पत्तासाफ हुन्छ, यसको सुरुवात राष्ट्रिय सभा निर्वाचनबाट हुन्छ’

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्रप्रसाद श्रेष्ठले नेकपा (एमाले) पत्तासाफ हुने दाबी गरेका छन् । संखुवासभाको मकालु गाउँपालिकामा आयोजना गरिएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो दाबी गरेका हुन् । ‘केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट पार्टी आफैँले नराम्राे काम गरेर खुम्चिँदै गयो,’ श्रेष्ठले भने, ‘अबको निर्वाचनमा यो पार्टी एमाले पत्तासाफ हुन्छ । यसको सुरुवात केही दिनमा हुने राष्ट्रिय सभाको निर्वाचनबाट हुन्छ ।’

हिजोको प्रजा परिषद्को जस्तै हालत अब एमालेको हुने टिप्पणी श्रेष्ठको थियो । ‘कहिलेकाहीँ ठूलै शक्ति, पुरानै शक्ति पनि गुमनाम हुन्छन् । हराउँछन् । हामीले हिजोको राजतन्त्र देख्यौँ । प्रजा परिषद्को हालत देखेकै छौँ । अब पालो एमालेको,’श्रेष्ठले भनेका छन् । ओलीले अलाेकतान्त्रिक काम गरेर जनतालाई पटकपटम चिढ्याएकाे श्रेष्ठकाे भनाइ थियाे । उनले थपे, ‘र यसाे हुनु आवश्यक पनि छ ।’

श्रेष्ठले नेपालको कम्युनिष्ट र कांग्रेसबीच केही फरक नभएको पनि औंल्याए । नाम मात्रै फरक भएको उल्लेख गर्दै श्रेष्ठले भने, ‘यिनीहरू फरक फरक नामले जन्मेपनि काम र विचारमा भने फरक छैन । हामी भने विचारमै विकल्प बोकेर आयौँ । हामी समाजवादी कुरा गर्छौँ । विकासका करा गर्छाैँ, समृद्धिका कुरा गर्छाैँ ।’

आफ्नो पार्टी जसपालाई शक्तिशाली दलको संज्ञा दिएका श्रेष्ठले भने, ‘मुलुकमा नयाँ नयाँ विचार बोकेर राजनीतिक पार्टीहरू आइरहेका छन् । लोकतान्त्रिक शक्तिहरू आइरहेका छन् । कम्युनिष्ट र कांग्रेसले धेरै समय सत्तासुख लिएपनि विकास गरेनन् । अब यी र यस्तै शक्तिलाई चिन्नु आवश्यक छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *