बार परिसरभित्र पसेर वकिललाई धम्की दिने पक्राउ

काठमाडौँ । नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानून व्यवसायीहरूलाई धम्की दिने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राति बौद्धबाट तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनीहरूले बिहीबार बार परिसरभित्रै प्रवेश गरेर वकिलहरूलाई ‘कालो कोट च्यात्ती दिने’ र कुट्ने धम्की दिएका थिए । दुई पक्षबीच विवाद बढ्दै गएपछि ती दुई जनालाई प्रहरीले बार परिसरबाट बाहिर निकालेको थियो ।

ढकाल काठमाडौँ महानगरपालिका-६ बौद्ध र श्रेष्ठ कागेश्वरी मनफहरा नगरपालिका-६ मूलपानीका हुन् । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए । दुवै जना टेकुस्थित परिसरको हिरासतमा छन् ।

आन्दोलनमा जारी
प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध जारी आन्दोलन बृहत् बन्दै जाने भएको छ । उनको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको आन्दोलनमा ‘बृहत् नागरिक आन्दोलन’ सहित विभिन्न सङ्घसंस्था पनि मिसिने भएका हुन् ।

जबराले मन्त्रिमण्डलमा भाग खोजेको कुरा सार्वजनिक भएपछि उनले गरेका अन्य गल्ती पनि औँल्याउँदै न्यायालय शुद्धीकरणका लागि भनेर नेपाल बार एसोसिएसनको नेतृत्वमा तीन हप्तायता सर्वोच्च परिसरमा वकिलहरूले दैनिक विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *