वकिलमाथिको आक्रमणको अनुगमन गर्न आयोगलाई बारको आह्वान

काठमाडौँ । नेपाल बार एसोसिएसनले कानुन व्यवसायीमाथि भएको आक्रमणको अनुसन्धान गर्नका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय मानवअधिकारसम्बन्धी संस्थाहरूलाई आह्वान गरेको छ ।

बिहीबार सर्वोच्च परिसरमा प्रहरी र कानुन व्यवसायीबीच भएको झडपपछि बसेको बारको आकस्मिक बैठकले आजको बर्बरतापूर्ण आक्रमणको अनुगमन गर्न मानवअधिकार सम्बन्धी संस्थाहरूलाई आह्वान गरेको हो ।

सर्वोच्च परिसरमा धर्ना बसिरहेका बेला प्रहरी ल्याएर आक्रमण गर्न खोजेको भन्दै बारले पुनः कानुन व्यवसायीमाथि आक्रमण भएमा त्यसको जिम्मेवारी प्रधान न्यायाधीश‚ अदालत प्रशासन र गृह प्रशासनले लिनुपर्ने बताएको छ ।

‘अदालत परिसरलाई युद्ध मैदान बनाउन अनुमति दिने प्रधान न्यायाधीश र अदालत प्रशासनको यो हर्कतले हामीलाई स्तब्ध बनाएको छ‚’ आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ‚ ‘अदालत युद्धमैदानमा परिणत भएको यो अवस्थामा न्याय प्रशासन र न्याय सम्पादन सुसञ्चालन गर्न सकिने कल्पना पनि गर्न सकिँदैन ।’

विरोध सभा सकिएपछि तीन-चार जना विचौलिया बार परिसरमा प्रवेश गरी कानुन व्यवसायीलाई अशिष्ट भाषा प्रयोग गरेकाले त्यसप्रति भर्त्सना गर्दै बारले कुनै पनि अवस्थामा प्रधान न्यायाधीशको राजीनामा नभई आफूहरूको आन्दोलन नरोकिने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *