बस्ला त फुलकोर्ट ?

काठमाडौँ । न्यायाधीशहरूले फुलकोर्ट (सर्वोच्चका सबै न्यायाधीश सहभागी हुने बैठक) बोलाउन प्रस्ताव गरेका छन् । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरिरहेका उनीहरूले आजका लागि फुलकोर्ट बोलाउन प्रस्ताव गरेका हुन् ।

बुधबार बसेको सर्वोच्च अदालतका १३ जना न्यायाधीशको बैठकले फुलकोर्ट बोलाउनका लागि आग्रह गर्ने निर्णय भएको थियो । न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरिप्रसाद फुयाल र नहकुल सुवेदी संलग्न बैठकले त्यस्तो निर्णय गरेको हो ।

प्रधान न्यायाधीश जबरासहित सर्वोच्चका २० जना न्यायाधीशमध्ये ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् भने तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालले फुलकोर्टबाहेकका बैठकमा सहभागी नहुने निर्णय गरेका थिए । त्यसैले बुधबारको बैठकमा उनीहरू थिएनन् ।

सो बैठकमा सर्वोच्च अदालतको नियमावलीको नियम संशोधनका लागि समझदारी भएसँगै त्यसलाई अनुमोदनका लागि फुलकोर्ट बैठक बोलाउन मुख्य रजिस्ट्रारमार्फत आग्रह गरिएको हो । रजिस्ट्रारले प्रधान न्यायाधीशलाई जानकारी गराएपछि फुलकोर्ट आह्वान हुनेछ । प्रधान न्यायाधीश जबराले फुलकोर्ट बोलाएमा बैठकले नियमावली संशोधनको निर्णय गर्नेछ ।

नियमावलीमा ‘प्रधान न्यायाधीशले सर्वोच्च अदालतका इजलासहरूमा मुद्दा तोक्ने’ व्यवस्था छ । त्यसलाई संशोधन गरी ‘गोला प्रणालीबाट मुद्दा तोकिने’ उल्लेख गरिनेछ । सर्वोच्च अदालत नियमावली अनुसार फुलकोर्ट प्रधान न्यायाधीशको अध्यक्षतामा बस्छ ।

तर प्रधान न्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन भइरहेकाले फुलकोर्ट बैठक बोलाउने बारेमा अन्योल देखिएको छ । न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले गरेको सिफारिस अनुसार तयार पारिएको कार्यविधिलाई ‘गोला प्रथाद्वारा पेसी व्यवस्थापन कार्यविधि मस्यौदा २०७८’ नाम दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *