प्रदेश १ : मुख्यमन्त्री राईको विपक्षमा मतदान गर्न सांसदलाई एमालेको ह्वीप

विराटनगर । नेकपा एमाले संसदीय दलको बैठकले प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । एमालेको गण्डकी प्रदेश संसदीय दलको बुधबार बिहान बसेको बैठकले मुख्यमन्त्री राईले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो ।

४१ जना प्रदेश सभा सदस्य रहेको नेकपा एमालेमा १ जना सभामुख र १ जना सरकारी कागजात किर्ते गरेको अभियोगमा फरार छिन् । आज बस्ने प्रदेश सभाको बैठकबाट गठबन्धनको सरकारका मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

मंगलबार नै विश्वासको मत लिने भनिएको भए पनि प्रतिपक्षी दल नेकपा एमालेका एक जना पनि सांसदको उपस्थिति नभएपछि मंगलबारको प्रदेश सभाको बैठकबाट विश्वासको मत लिने मिति बुधबारका लागि तोकिएको थियो ।

प्रदेश सभामा गठबन्धनको तर्फबाट कांग्रेसका २१, माओवादीका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संयुक्त लोकतान्त्रीक राष्ट्रिय मञ्चका १ जना सांसद छन् । प्रदेश सभामा एमालेका ४१ र राप्रपाका १ जना सांसद छन् ।

नेकपा एमाले विभाजन नहुँदासम्म ५१ जना रहेकोमा १० जना फुटेर नेकपा (एकीकृत समाजवादी) भएपछि एमालेको संख्या घटेको हो । यसअघि एमालेको सरकारका मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि गठबन्धनको तर्फबाट प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एस संसदीय दलका नेता राजेन्द्रप्रसाद राई नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *