कतारमाथि नेपाली महिला टोलीको ऐतिहासिक जित

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारसँगको टी-२० श्रृंखलाको पहिलो खेलमा प्रभावशाली जित निकालेको छ । अहिलेसम्मकै फराकिलो जित निकाल्ने क्रममा नेपाली महिला टीमले कतारलाई १ सय १९ रनले पाखा लगायो । जितसँगै तीन खेलको सिरिजमा नेपालले १-० को अग्रता कायम गरेको छ ।

यसअघि नेपाली महिला टीमले २०१९ मा इन्डोनेसियाविरुद्ध ९२ रनको जित सर्वाधिक ठुलो रनअन्तरको जितका रुपमा रहेको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले १ सय ४७ रनको स्कोर तयार गरेको थियो । जवाफमा कतार ११.५ ओभरमा २७ रनमा अल आउट भयो । कतारका कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर तयार गर्न सकेनन् । कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले बनाएको ८-८ रन सर्वाधिक स्कोरका रुपमा रह्यो ।

नेपालको कसिलो बलिङसामु घरेलु टोली निरिह रह्यो । उसका ७ खेलाडी शून्य रनमा आउट भए । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३ विकेट लिन त्यस्तै कविता कुंवर र सिता राना मगरले समान २-२ विकेट लिए । थप १ विकेट करुणा भण्डारीको नाममा रह्यो ।

त्यसअघि कतारको दोहास्थित वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै उच्च १४६ रनको स्कोर बनाएको थियो । यसअघि सन् २०१९ मा मलेसियाविरुद्ध १ सय २६ रन नेपालको उच्च स्कोरका रुपमा रहेको थियो ।

नेपालकी इन्दु बर्माले ४७ बलमा ५ चौकासहित सर्वाधिक ५५ रनको योगदान दिइन् । उनी टी-२० अन्तरराष्ट्रियमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडीका रुपमा रहिन् । इन्दु रिटायर्ट हर्ट हुँदै पेभिलियन फर्किएकी थिइन् । उनले ४५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । यसअघि नेपाली महिला टोलीको टी-२० अन्तरराष्ट्रियमा सीता राना मगरले २०१९ मा इन्डोनेसियाविरुद्ध बनाएको ४८ रन सर्वाधिक थियो ।

सीताले कतारविरुद्ध ३३ बलमा ५ चौकासहित ३९ रन बनाइन् । त्यस्तै सरिता मगरले २१ रन बनाउँदा कविता कुँवर ८ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि इन्दु बर्मा र सीताले ८८ रनको कीर्तिमानी साझेदारी गरेका थिए । यो नेपालको सर्वाधिक ठुलो साझेदारी हो । नेपालले कतारसँग दोस्रो खेल बुधबार र तेस्रो खेल बिहीबार खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *