न्यायालयको विवादले यथाशीघ्र निकास पाउनुपर्छ : पाँच दलीय समन्वय समिति

काठमाडौँ । सत्तारुढ पाँचदलीय गठबन्धनले केही दिनयता सर्वोच्चमा देखिएको समस्या र गतिरोधबारे ध्यानाकर्षण भएको जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको गठबन्धनअन्तर्गतको उच्चस्तरीय राजनीतिक समन्वय समितिले राज्यको महत्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरीमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्नेमा जोड दिएको हो । बैठकले न्यायलयभित्र छिटै निष्कर्ष निस्कने विश्वास समेत व्यक्ति गरेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै, बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवर्द्धन गर्नेमा जोड दिने निर्णय गरेको उनले बताए ।

त्यस्तै राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा गठबन्धनको सहकार्यलाई अघि बढाउने गठबन्धनले जनाएको छ । त्यस्तै गठनबन्धनको निर्माणसँगै जटिल संक्रमण अन्त्य भएर मुलुकको राजनीति लिकमा फर्किएको बैठकपछि गठबन्धनका शीर्ष नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गठबन्धनले स्थिर सरकारको निर्माण तथा राजनीतिक स्थीरताको आशासँगै स्वदेशी तथा विदेशी लगानीकर्ता तथा उद्यमीहरू समेत उत्साहित भएको दाबी गरेको छ ।

त्यस्तै बाढी-पहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत तथा उनीहरूको पुनःस्थापनाका लागि प्रभावकारी रुपमा काम अघि बढाइएको कांग्रेस नेता एवं सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।

मंगलबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक बसेको हो । बैठकमा गठबन्धन दल आवद्ध शीर्ष नेताहरूको सहभागिता थियो । पाँचदलीय गठबन्धनले आगामी दिनमा चुनावी तालमेल गर्न, सरकारका काम/कारबाहीमा समन्वय गर्न, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्न भन्दै कात्तिक २२ गते समन्वय समिति गठन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *