अन्तर्वार्ता

बाटो खोज्दै पर्यटन बोर्ड

काठमाडौँ । प्रदेशमा पहिलो पटक प्रदेश १ मा पर्यटन बोर्ड गठन भयो । संघीयता कार्यान्वयनमा गएपछि प्रदेशहरूले आफ्नो क्षेत्र विस्तार गर्ने र नयाँ कामहरूको थालनी भए । प्रदेश सरकार स्थापना भएको २ वर्षपछि बनेको प्रदेशको पर्यटन व्यवस्था गर्न ऐन बन्यो र कार्यान्वयनमा लग्न केही जटिलताहरू पनि देखिए ।

पछिल्लो भीम आचार्य मुख्यमन्त्री नेतृत्वको सरकारले प्रदेश १ मा पर्यटन बोर्ड गठन गर्नका लागि कानूनमा व्यवस्था भएअनुसार प्रदेश पर्यटन बोर्ड गठन गरेको छ । गत असोज २४ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट बनेको प्रदेश पर्यटन बोर्डको उपाध्यक्षमा पर्यटन व्यवसायी फडिन्द्र अधिकारी नियुक्त भएका छन् । उपाध्यक्ष अधिकारीसँग मकालु खबरका प्रदेश प्रतिनिधि सुमन सुस्केराले कुराकानी गरेका छन् ।

प्रदेश पर्यटन बोर्ड गठन नहुँदै पदाधिकारी हटाउने हल्ला छ नि‚ तपाईँहरू प्रक्रिया बाहिरबाट आएको हो ?

सरकारले गरेको निर्णयलाई प्रक्रियाभन्दा बाहिर भन्न मिल्छ र ? यो पर्यटन क्षेत्रका लागि महत्त्वपूर्ण काम भएको छ । पर्यटन बोर्डको गठनले प्रदेश १ को पर्यटन विकास, विस्तार र प्रवर्द्धनमा पछाडि परेको प्रदेश १ लाई उकास्न बोर्ड गठन पछि सहज भएको छ ।

सरकारले कुनै पदाधिकारी हटाउने भन्ने कुरा थाहा भएन । बोर्डमा नियुक्त भएर आउनुभएका पदाधिकारीहरू सबै विधि प्रक्रियाबाट आएका हौँ । नीति विधि प्रक्रियामा विश्वास गर्ने हामीलाई लाग्छ सरकारले त्यस्ता कुरा गरेको छैन होला । आधिकारिक रुपमा जानकारीमा आएको पनि छैन ।

प्रदेश पर्यटन बोर्ड गठन भएर मात्र काम होला त ?

बोर्ड एक्लैले काम गर्ने होइन । यो एउटा संस्था हो, यसले सरकारसँगै पर्यटन क्षेत्रमा काम गर्ने निजी क्षेत्रसँग समन्वय गर्छ । पर्यटकीय गन्तव्य, पर्यटनसँग जोडिएका व्यवसायको प्रचार प्रसार र प्रवर्द्धनको काम हामीले गर्ने हो ।

यी सबै काम गर्नका लागि पहिला जग बसाउनुपर्छ, त्यो जग भनेको बोर्ड बनेर सुरु भएको छ । जग हाल्न नपाउँदै अहिले नै धेरै गर्‍यौँ भन्ने अवस्था छैन । भर्खर बोर्ड गठन भएको एक महिना हुँदै गर्दा हामीले केही काम गर्नुपर्छ भनेर छलफल थालेका छौँ ।

No description available.

अहिले बोर्डमा पदाधिकारीहरू मात्र रहेको अवस्था छ । कर्मचारी माग गर्ने, नियुक्ति गर्ने बारेमा सरकारसँग परामर्श भइरहेको छ । बोर्डमा कर्मचारी नियुक्त गर्ने बारेमा यस बोर्डका अध्यक्ष तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवज्यूको संयोजकत्वमा समिति नै बनेर काम थालेको छ ।

हामी सरकारसँगको समन्वयमा काम गर्ने भएकाले प्रदेशमा पर्यटन व्यवसायलाई कसरी अघि बढाउने भन्ने बारेमा लागि परेका छौँ । बोर्ड आफैँले वर्षीय योजना, कार्यक्रमहरू बनाउनु पर्नेछ, त्यसको अहिले गृहकार्य भइरहेको छ । पर्यटनसम्बन्धी नीति बनाएर कार्यान्वयनको जिम्मेवारी बोकेकाले हामीले सबैलाई समेटेर छलफलका आधारमा अघि बढ्ने सोच बनाएका छौँ ।

प्रदेश १ मा पर्यटकीय हिसाबले के के सम्भावना देख्नुहुन्छ ?

प्रदेश १ सबै हिसाबले सम्पन्न छ । जस्तो कि प्रदेश १ मै सगरमाथा पर्छ । प्रदेश १ बासीले चिनेर पनि त्यसको उपयोग गर्न सकेका छैनौँ । प्रदेश १ मै भएर पनि काठमाडौँले लाभ लिइरहेको छ । ८ हजारभन्दा माथि उचाईका ४ वटा हिमाल हाम्रै प्रदेशमा भएर पनि त्यसबाट लाभ लिन सकेका छैनौँ ।

हामी हाम्रै प्रदेशमा सबै कुरा रहेको छ भनिरहेका छौँ । हिमालमा सगरमाथा, मकालु, कञ्चनजङ्गा र ल्होत्से तथा साना हिमालहरु थुप्रै छन् भने धार्मिक हिसाबमा पनि ठुला धार्मिक तिर्थस्थल हाम्रो १ नम्बर प्रदेशमा छ । पाथिभरा, बराहक्षेत्र, हलेसी, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मात्र होइन‚ थुप्रै हाम्रा धार्मिक तीर्थस्थलहरू छन् ।

साहसिक पर्यटनका लागि प्याराग्लाइडिङ, र्‍याफ्टिङ, जिपलाइनलगायत धेरै कुरा लुकेर रहेका छन् । विराटनगरले एउटा ठूलो सम्भावना भएर पनि गर्न नसकेको भनेको माउन्टेन फ्लाइट हो ।

No description available.

यहाँबाट शुरु भएर पनि रोकिएको यो काम हामीले गर्नुपर्नेमध्येको हो । अर्को सम्भावना बोकेको र हाम्रो उपेक्षामा परेको जस्तो देखिएको कोशीटप्पु पनि हो । कोशीटप्पुसँग जोडिएको साना पानी जहाजहरूलाई व्यवस्थापन गर्नुपर्नेछ ।

प्राविधिक रुपमा देखिएका समस्याको समाधान गर्दै ती व्यवसायको प्रवर्द्धन गर्नु त छँदैछ, नीति-नियम र कानुनी रुपमा सहजीकरणको काम गर्नु हो । समग्र पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्दै अगाडि बढ्ने हो भने प्रशस्तै सम्भावना रहेको प्रदेश १ ले धेरै फाइदा लिने देख्छु ।

पर्यटकीय क्षेत्रहरुमा सरकारले गर्नु पर्ने के हुन् जस्तो लाग्छ ?

भइरहेको पर्यटकीय क्षेत्रको व्यवस्थित गर्नुपर्छ । व्यवस्थित गर्ने भनेको के हो भने, शान्ति सुरक्षा, स्वस्थ्य सुरक्षा, बाटोघाटोको सहज पहुँच, सञ्चारको पहुँच पुगेको हुनुपर्छ । पर्यटकीय क्षेत्रमा व्यवसायी तथा कर्मचारीलाई दक्षता अभिवृद्धि, पर्यटकमैत्री व्यवहारका लागि प्रशिक्षण तालिमका कुराहरू पनि छन् ।

पहिलो कुरा पर्यटक पुर्‍याउनका लागि गर्नुपर्ने काम नै बाँकी छन् । पहिला पर्यटकीय क्षेत्रमा पर्यटक पुर्‍याउने पहल हुनुपर्छ । त्यसका लागि कहाँ समस्या छ हामी आफैँ बसेर पत्ता लगाउनुपर्छ । यसको लागि प्रदेश एक्लैले गर्नेभन्दा पनि संघ, प्रदेश र स्थानीय तहका बिचमा समन्वय गरेर एक खालको वातावरण बतार गर्नुपर्ने हुन्छ, समन्वयको काम भनेको पर्यटन बोर्डले गर्न सक्छ । नीतिगत समस्या भए समाधान गर्ने, प्राविधिक समस्या भए सरकारहरूका बिचमा छलफल गरेर भएपनि गाँठो फुकाउनुपर्छ ।

भर्खरै नियुक्त हुनुभएको छ, तपाईँका योजना के हुन् त ?

तपाईँले भने जस्तै हामी भर्खरै आएका नयाँ हौँ‚ तर यो पर्यटन बोर्डका लागि मात्र हो । हामीले पर्यटन क्षेत्रमा धेरै लामो अनुभव लिएर आएका छौँ । कसरी पर्यटनको विकास गर्ने, पर्यटकीय क्षेत्रको खोजी गर्ने, कसरी पर्यटक प्रदेश १ मा भित्र्याउने भन्नेमा हामी बोर्डका सबै उत्तिकै जानकार छौँ ।

निजी क्षेत्रमा काम गरेका हामीलाई यो विषयको केही ज्ञान बोकेर आएका छौँ । त्यसका लागि वातावरणको कुरा महत्त्वपूर्ण हो । वातावरण बनाउने कुरामा आएको एक हप्तामा नै कार्यालय सञ्चालनमा ल्याएका छौँ ।

No description available.

कार्यालय सञ्चालनमा भएपनि कर्मचारी हामीसँग छैनन् । कर्मचारी व्यवस्थापनका लागि हामीले पहिलो काम बोर्डको कार्यकारी प्रमुख नियुक्त गर्नुपर्नेछ । कार्यकारी प्रमुखको नियुक्तिसँगै आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन गरेर कार्यालयलाई एउटा गतिमा लगेपछि हामीले अरु कामलाई अघि बढाउन सक्छौँ ।

बोर्डले आफ्नो आम्दानीको सुनिश्चितताका लागि स्रोतको पहिचान गर्नुपर्ने हुन्छ । स्रोतको सुनिश्चितता नहुँदासम्म कुनै पनि काम हामीले गर्न सक्ने अवस्था हुँदैन । निजी क्षेत्रसँग समन्वय गरेर अघि बढ्नुपर्ने भएकाले बोर्डले सबै पर्यटन व्यवसायीहरूलाई एक गराएर प्रदेश पर्यटन विकास र प्रवर्द्धनमा लाग्नुपर्नेछ ।

पर्यटकीय क्षेत्रमा लगानीमैत्री वातावरण बनाउने, पर्यटकीय गन्तव्यको सही व्यवस्थापन गर्ने, गन्तव्यको प्रचार प्रसार गर्ने, पर्यटकमैत्री व्यवहारका लागि प्रशिक्षित गर्नुपर्नेछ । गर्नुपर्ने धेरै छन्‚ तर कहाँबाट गर्ने भन्नेमा हामी योजना तथा कार्यक्रमका साथ आउनेछौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *