पोर्चुगललाई स्तब्ध पार्दै सर्विया विश्वकपमा छनोट

काठमाडाैँ । ९० औँ मिनेटमा एलेक्सजेण्डर मित्रोभिकले निर्णायक गोल गरेपछि सर्विया आगामी वर्ष कतारमा हुने २०२२ को फिफा विश्वकपका लागि छनोट भएको छ । विश्वकप फुटबलका लागि जारी युरोपियन छनोट अन्तर्गत समूह ए को खेलमापोर्चुगललाई छनोटका लागि बराबरी पर्याप्त थियो । तर अन्तिम मिनेटमा स्तब्ध बन्दै पोर्चुगल प्लेअफमा धकेलियो ।

घरेलु मैदानमा अप्रत्याशित हारको सिकार हुँदा पोर्चुगल समूहमा दोस्रो स्थानमा रह्यो । आइतबार राति भएको खेलमा पोर्चुगल सर्वियासँग २-१ पराजित भएपछि सोझै छनोटको अवसरबाट चुक्यो । अब उसले आउँदो विश्वकपमा छनोट हुनका लागि प्लेअफ खेल्नु पर्ने छ ।

छनोटमा जित्ने पर्ने दबाबमा रहेको सर्विया भने पोर्चुगललाई हराएसँगै विश्वकपमा स्थान बनाउन सफल भयो । दोस्रो मिनेटमा नै रेनाटो सान्चेजको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो । खेलमा बराबरी मात्रै गरेको अवस्थामा पनि पोर्चुगल विश्वकपमा छनोट हुने अवस्थामा सुरुवाती अग्रताले उत्साही पोर्चुगल खेल सकिँदा भने निराश बनेको थियो ।

सर्वियालाई खेलमा फर्काउने क्रममा ३३ औँ मिनेटमा डुसान टाडिकले सर्वियाका लागि बराबरी गोल गरे । पोर्चुगललाई स्तब्ध पार्न भने ९० औँ मिनेटमा एलेक्सजेण्डर मित्रोभिकले गरेको गोल महत्त्वपूर्ण रह्यो । घरेलु दर्शक तथा खेलाडी स्तब्ध हुँदा भ्रमण टोली सर्बिया र उसका समर्थकले उत्सव मनाएका थिए ।

जितसँगै समूह ए को सर्बिया ८ खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहेर विश्वकपमा छनोट भयो भने १७ अंक जोडेको पोर्चुगल प्लेअफमा धकेलियो । अब पोर्चुगलले विश्वकप छनोटका लागि आगामी मार्चमा प्ले अफ खेल्नु पर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *