सर्वोच्चको गेटमा प्रधान न्यायाधीशका समर्थक र विरोधी आमुन्नेसामुन्ने

काठमाडौँ । सर्वोच्च अदालतको गेटमा प्रधान न्यायाधीश जबराको समर्थक र विरोधी आमुन्नेसामुन्ने भएका छन् । आइतबार कानुन व्यावसायीहरू सर्वोच्चको मूलगेटभित्र कोणसभा गरिरहँदा जबराका समर्थकले ‘न्याय मार्न पाइँदैन, नेपाल बार एसोसियसन मुर्दावाद’ भन्दै नारा लगाएपछि वातावरण केहीबेर तनावग्रस्त भएको थियो ।

तर, प्रहरीले स्थिति नियन्त्रण लिएका कारण कुनै अप्रिय घटना भने हुन पाएन । जबराका समर्थकहरू कोही बाइकमा थिए, बाइकमा हुनेहरूले बाइक उफारेर, हर्न बजाएर वातावरण बिथोल्ने प्रयास गरेका थिए भने बाइकमा नहुनेहरूले नाराबाजी गरेर आन्दोलन बिथोल्ने प्रयास गरिरहेका थिए ।

थोरै संख्यामा रहेका जबराका समर्थकलाई प्रहरीले केहीबेरमै तितरबितर गर्‍यो । केहीलाई नियन्त्रणमा लियो । त्यसक्रमममा केही प्रहरी घाइते भए ।

‘विचौलियाहरू होस् गर, गुण्डाका नाइके राजीनामा दे, भाडाका टट्टु फिर्ता जा, गुण्डाका नाइके चोलेन्द्र मुर्दावाद, भ्रष्ट प्रधान न्यायाधीश राजीनामा दे, चोलेन्द्रका मतियार होसियारजस्ता नाराहरू लगाइएका थिए ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराका समर्थकलाई विचौलियाको संज्ञा दिँदै नियन्त्रणमा राख्न प्रधान न्यायाधीशलाई आग्रह गरेका थिए । ‘तपाईँका विचौलिया नियन्त्रणमा राख्नुस् । घुसपैठ गराएर आन्दोलनलाई असफल पार्ने चेष्टा नगर्नुस्‚’ उनले भने । जबराका समर्थकहरूलाई घर जान उनले आग्रहसमेत गरे ।

नेपाल बारका महासचिव लीलामणि पौड्यालले जबराका समर्थकहरूलाई ‘भाडाका भिजिलान्ते’को संज्ञा दिएका थिए । पाण्डे थरका व्यक्तिको नामबा प्रतिव्यक्ति २ हजार लिएर परिचालित भएकाहरु जबराको समर्थनमा देखा परेको भन्दै उनले ‘थानकोट कटाइदिने’ चेतावनी दिए ।

नेपाल बारका उपाध्यक्ष ईश्वरी भट्टराईले प्रधान न्यायाधीश जबराको समर्थनको नाममा राष्ट्रिय झण्डाको दुरुपयोग गरिएको जिकीर गरे ।

नेपाल मानव अधिकार आयोगकी पूर्वसदस्य समेत रहेकी अधिवक्ता मोहना अन्सारीले प्रधान न्यायाधीश जबराले नै आफूहरुको आन्दोलन भड्काउन खोजेको बताइन् ।

‘शान्तिपूर्ण आन्दोलनलाई जसरी प्रधान न्यायाधीशले विभिन्न माध्यमबाट बदनाम गर्ने गतिविधि गर्दै हुनुहुन्छ‚ नेपाल बार कदापि विचलित हुनेछैन,’ उनले थपिन्, ‘कमिसनको पैसाबाट भाडा र ज्याला दिएर हुल्याहाहरू पठाएर आन्दोलन भड्काउन खोजियो । चोलेन्द्र प्रधान न्यायाधीशका रुपमा रहेसम्म यो आन्दोलन र धर्ना जारी रहन्छ ।’

जबराका समर्थक र विरोधीबीच सडकमा मुडभेड हुन सक्ने आशंका बिहानै गरिएको थियो । आइतबार कानुन व्यवसायीहरुलाई सर्वोच्च परिसरमा प्रवेश दिनुको एउटा कारण यो पनि हो ।

गतशुक्रबार आन्दोलनरत कानुन व्यवसायीहरू सर्वोच्च अदालतभित्र छिर्न पाएका थिएनन् । सर्वोच्च छिर्न नपाएपछि उनीहरूले सर्वोच्च परिसरको मूल गेट अगाडि सडकमै कोणसभा गरेका थिए ।

सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरे भन्छन्, ‘प्रमुख रजिस्ट्रारलाई स्पष्टै भनेका थियौँ, प्रहरीलाई भनेका थियौँ‚ नेपाल बारबाटै छिरेर सर्वोच्चको मूल गेट र चोर बाटो (वैकल्पिक गेट) मा पुगेर पुगेर कोणसभा गर्ने हो ।  प्रहरीले सर्वोच्च परिसरमा प्रवेश त दियो‚ तर बीचतिरै रोक्न खोज्यो । तथापि हामी मुल गेट पुग्यौँ, चोर बाटोबाट प्रधान न्यायाधीशको प्रवेश रोक्ने ठाउँसम्म जान प्रहरीले दिएन ।’

कोणसभा नै बिथोल्ने प्रयास भएपछि आन्दोलन कानुन व्यावसायीहरू थप आक्रोशित भएका छन् । आइतबारको कोणसभाबाटै नेपाल बार महासचिव लीलामणि पौड्यालले भोलि (सोमबार)देखि सर्वोच्च केन्द्रित आन्दोलन गर्ने घोषणा गरे ।

‘घुस कमिसनको पैसा लिएर आएकाहरूबाट हाम्रो आन्दोलनलाई अपमान गर्न खोजियो, यसविरुद्ध हामी हरेक दिन यही गेटमा आन्दोलन गर्छौँ । भोलि (सोमबार)देखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसरमै हुन्छ‚’ उनले भने ।

सर्वोच्च अदालत नेपाल बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले अब प्रधान न्यायाधीश जबराको भूमिकालाई मान्यता दिने कुनै पनि कदम स्वीकार्य नहुने बताए ।

गत १४ गतेदेखि सर्वोच्च अदालतको सुनुवाई प्रभावित छ । राजीनामा नदिने प्रधान न्यायाधीशको अडानले न्याय प्रभावित भएको भन्दै न्यायाधीशहरू जबरासँग संयुक्त इजलास नबस्ने, अरु इजलास बस्ने कि भनेर छलफलमा रहेका बेला अध्यक्ष शाक्यले यस्तो बताएका हुन् ।

सर्वोच्च अदालत परिसरमा धर्नामा रहेका कानुन व्यवसायीहरूलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्तासमेत रहेका शाक्यले भने, ‘यो ब्याक गियर नभएको आन्दोलन हो । उहाँको कुनै रोललाई मान्यता दिएर यो आन्दोलनलाई तुहाउन दिँदैनौँ ।’

जराको राजीनामा माग्दै जारी आन्दोलनलाई नेपाल बारले आइतबारदेखि देशव्यापी बनाएको छ । आइतबार ७७ वटै जिल्लाका ९० वटा बार एकाइमा धर्ना दिइएको छ ।

जबराको सम्पति छानबिनको माग
अब जबराको राजीनामाले नपुग्ने र पदच्युत गरेपछि सम्पति छानबिनदेखि लागेका अन्य आरोपहरूबारे मुद्दा लिएर आउने चेतावनी कानुन व्यावसायीहरूको छ ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब प्रधान न्यायाधीश राणाको सम्पत्ति नै छानबिन हुनुपर्ने माग गरे । राणाले न्यायिक नेतृत्त्वमा बसेर अकूत सम्पत्ति कमाएको उल्लेख गर्दै छानबिनको दायरामा ल्याउनुपर्ने श्रेष्ठको जिकीर थियो ।

‘उहाँको प्रवेश भनेको न्यायालयलाई थप भ्रष्ट बनाउने हो । अदालत न्यायको मन्दिर हो । तर उहाँले न्याय किनबेच गरेपछि हामी आन्दोलनमा आयौँ,’ श्रेष्ठले अगाडि भने, ‘चोलेन्द्रको राजीनामा मात्र होइन, सम्पत्ति छानबिन हुनुपर्छ । अब राजीनामाले पुग्दैन । न्याय किनबेच गर्ने विचौलियाको छानबिन हुन्छ ।’

अधिवक्ता गोविन्द बन्दीले थपे, ‘प्रधान न्यायाधीशमाथि गम्भीर आरोपहरू लागेका छन् । ती आरोपहरू सत्य प्रमाणित भएको अवस्थामा कानुन अनुसार कारबाहीका लागि अगाडि बढ्नुपर्ने स्थिति देखिएको छ ।’

त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले धैर्यताको बाँध टुट्न लागेको उल्लेख गरे । उनले प्रधान न्यायाधीश मूल बाटो छाडेर चोर बाटोबाट पसेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *