क्यानका अध्यक्ष चन्द काँग्रेस सभापतिका उम्मेदवार

धनगढी । नेपाल क्रिकेट संघ (क्यान)का चतुरबहादुर चन्द कांग्रेसको जिल्ला सभापतिको उम्मेदवार भएका छन् । उनी नेपाली कांग्रेस बैतडीको सभापति पदका उम्मेदवार बनेका हुन् ।

केन्द्रको संस्थापन इतर पक्षबाट उनी सभापतिमा लड्न लागेका छन् । उनको नेतृत्वमा गएको असोज पहिलो हप्तानै जिल्लामा संयुक्त प्यानल नै घोषणा गरिएको छ । जिल्लामा उनलाई वर्तमान सभापति नरेन्द्रसिंह थापाको समर्थन छ । चन्द हाल उपसभापतिसमेत हुन् ।

चन्दको प्यानलबाट उपसभापतिमा खगेन्द्रसिंह धामी र रमेश पाण्डेयको नाम अघि सारिएको छ । धामी हाल जिल्ला सदस्य र पाण्डेय जिल्ला कोषाध्यक्ष रहेका छन् । सचिवमा प्रेमबहादुर चन्द र देवराज जोशीको नाम छ । चन्द हाल जिल्ला सचिव र जोशी जिल्ला सदस्य रहेका छन् । सहसचिवमा दीपेन्द्रबहादुर चन्द र दशरथसिंह चाड उम्मेदवार बनेका छन् ।

घोषणा सभामा बोल्दै सभापतिका उम्मेदवार चन्दले आफू कुनै गुटको उम्मेदवार नभएर कांग्रेसको संयुक्त उम्मेदवार भएको दाबी गरे । सभापतिमा आफूले जितेमा कांग्रेसलाई एकढिक्का बनाएर लैजाने तथा आगामी सबै निर्वाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउने दाबीसमेत गरेका छन् ।

जिल्लामा संस्थापन पक्षका शिवराज भट्टले पनि आफ्नो नेतृत्वमा अलगै प्यानल बनाएका छन् । जिल्लामा दुई प्यानल मैदानमा उत्रिएपछि चुनावी सरगर्मी बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *