एमबाप्पेको ह्याट्रिक, फ्रान्स विश्वकपमा छनोट

काठमाडाैँ । साबिक विश्व च्याम्पियन फ्रान्सले आगामी वर्ष कतारमा हुने विश्वकप फुटबलमा स्थान पक्का गरेको छ । एक खेल बाँकी हुँदै छनोट हुने क्रममा फ्रान्सले शनिबार काजकिस्तानमाथि ८-० को फराकिलो जित निकाल्यो । समूह डी मा रहेको फ्रान्सले ७ खेलबाट १५ अंक बनाएको छ । दोस्रो स्थानको फिनल्यान्डको ११ अंक छ ।

फ्रान्सको जितमा युवा स्टार केलियन एमबाप्पे ह्याट्रिकसहित चार गोल गरे । उनको फ्रान्सका लागि यो पहिलो ह्याट्रिक हो । त्यस्तै करिम बेन्जेमाको दुई गोल गर्दा एड्रिएन राविओट र एन्टोइन ग्रिजमनको नाममा पनि १-१ गोल रह्यो । घरेलु मैदानमा फ्रान्सले रवाफिलो प्रदर्शन गर्ने क्रममा स्टार एमबाप्पेले पहिलो हाफमानै ह्याट्रिक गरेका थिए ।

यसअघि जर्मनी, डेनमार्क र ब्राजिलले विश्वकपमा स्थान बनाइसकेको छन् । आयोजकको हैसियतमा कतार पनि छनोट भइसकेको छ । काजकिस्तानमाथि रवाफिलो जित निकाल्ने क्रममा एमबाप्पेले पहिलो हाफको ३२ औँ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए । छैटौँ मिनेटमा पहिलो गोल गरेका उनले १२ र ३२ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पुरा गरे । पहिलो हाफमा तीन गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप ५ गोल गर्‍यो ।

समूहको अर्को खेलमा फिनल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ३-१ ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । १० खेलाडीमा समेटिएको फिनल्यान्डको जितमा मार्कुस फोर्स, रोविन लोड र ड्यानियलले गोल गरे । बोस्नियाका लुका मिनालोको गोल सान्त्वना बन्यो ।

जितपछि फिनल्यान्ड ७ खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बोस्निया ७ अंक जोडेर चौथो स्थानमा रहँदा युक्रेनको ९ अंक छ। छनोटको अन्तिम खेलमा फिनल्यान्डले फ्रान्ससँग खेल्दैछ । युक्रेनले बोस्नियासँग खेल्दैछ । यो खेलबाट प्ले अफ पुग्ने टोलीको पनि टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *