मंसिर १ गतेदेखि सानेपामा अनसन बस्ने डडेल्धुरा कांग्रेसको घोषणा

धनगढी । नेपाली कांग्रेस डडेल्धुराले आगामी मंसिर १ गतेदेखि पार्टी कार्यालय सानेपामा अनसन बस्ने घोषणा गरेको छ । शनिवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै डडेल्धुराका सभापति कर्णबहादुर मल्लले मंसिर १ देखि पार्टी कार्यालयमा अनसन बस्ने घोषणा गरेका हुन् । उनले डडेल्धुरा जिल्लाका सबै वडाका क्रियाशील सदस्यहरू सानेपामा अनसन बस्ने बताए ।

केन्द्रीय सभापतिको निर्देशनमा समितिले काम गरिरहेकाले डडेल्धुरामा भएको वडा अधिवेशनलाई मान्यता दिएको भन्दै अनसनमा बस्न लागिएको उनले बताए । ‘११ दिन हामी पार्टी कार्यालय डडेलधुरामा अनसन बस्यौँ, त्यसको पनि कुनै सुनुवाइ भएन,’ उनले भने, अब हामी डडेल्धुरा जिल्लाका सबै वडाका क्रियाशील सदस्यहरू मंसिर १ गते सानेपामा अनसन बस्छौँ ।’

सभापति मल्लले आफूहरूको बहिस्कारका बीच भएको डडेल्धुरामा वडा र पालिका अधिवेशन स्वीकार्य नहुने बताए। उनले आफूहरूको सहमति बिना भएको अधिवेशनलाई समितिले वैधता दिन नसक्ने दाबी गरे ।

लिखित रूपमा सप्रमाण निर्वाचन समितिमा उजुरी दिइएको भए पनि त्यसको बेवास्ता गर्दै डडेल्धुराको अधिवेशनलाई वैधानिकता दिएको भन्दै उनले आक्रोश पोखे । ‘समितिले हामीलाई पनि जानकारी गराउनुपर्छ,’ मल्लले भने, ‘तर कुनै सम्पर्क बिना नै अधिवेशनलाई वैधानिकता दिएर अधिवेशनको मिति पनि तोकिएको छ । यो हामीलाई मान्य छैन ।’

सभापति देउवाको गृह जिल्ला समेत रहेको डडेलधुरामा समितिले निष्पक्ष काम नगरेको उनको आरोप छ। डडेल्धुरामा एकपक्षीय रूपमा अधिवेशन भएको भन्दै सभापति मल्ल पक्षले फेरि अधिवेशन हुनुपर्ने माग गर्दै आएको छ । तर निर्वाचन समितिले भने डडेल्धुरा जिल्लाको वडा र पालिका अधिवेशनलाई वैधता दिँदै महाधिवेशन कार्य तालिका सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *