पत्रकारहरूलाई नेपालको आग्रह- ‘भट्टी छिर्ने बानी त्याग्नुस्’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूनिकटका पत्रकारहरूलाई भट्टी छिर्ने बानी त्याग्न आग्रह गरेका छन् । शनिवार एकीकृत समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । ‘साँझ नपर्दै भट्टी छिर्ने बानीलाई आजैबाट त्याग्नुस्,’ नेपालले भनेका छन् ।

रक्सी नखाइकन निर्दै नलाग्ने पत्रकारहरूको बारेमा आफूलाई जानकारी भएको उल्लेख गर्दै नेपालले थपे, ‘यस्तो बानी कसैका लागि राम्रो होइन । यस्तो बानी तपाईंहरू कसैसँग छ भने त्यागिदिनुस् । यसले सामाजिक रूपमा समेत राम्राे गर्दैन ।’

आफूले सर्लाही जाँदा रक्सी खाने पार्टीका नेता तथा पत्रकारहरूको बारेमा थाहा पाएको सुनाउँदै नेपालले भनेका छन्, ‘अस्ति सर्लाही जाँदा त्यहाँ सुनेँ, गर्मी महिनामा साढे सात बजे र जाडो मौसममा साढे पाँचै बजे होटलमा जम्मा हुने गर्छन् । टेबुलभरी बोतल र गिलास ठोकाठोक गर्ने अनि घरमा गएर झगडा गर्ने कुन पार्टीका मान्छे हुन् ? यो प्रश्न तपाईंहरुलाई पनि उठेको छ । यस्तो बानी छ भने त्याग्नुस् ।’

अध्यक्ष नेपालले रक्सीले मान्छेको आयु घटाउने र घर कलह तथा समाजमा विकृति हुने स्मरणसमेत गराए । कतिपयमा बिहानैदेखि नै रक्सी नखाइ नहुने लत हुने उल्लेख गर्दै नेपालले थपे, ‘तपाईंहरू साँझमा पनि नखानुस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *