झापामा नोबेल र ललितपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । झापाको मेचीनगर नगरपालिका र ललितपुरको गोदावरी नगरपालिकामा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगर-१४ दुहागढी र काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले गोदावरी-११ चापागाउँमा शिविर सञ्चालन गरेको हो ।

दुवै शिविरबाट २ हजार ५ सय १८ जना बिरामी लाभान्वित भएका छन् । स्थानीय बुद्ध इँटा भट्टा महा प्रालि, मेचीनगर नगरपालिका-१४ काे वडा कार्यालय र रेडक्रस सोसाइटी दुहागढीसँग सहकार्य गरेर नोबेलले सञ्चालन गरेको शिविरमा १ हजार ३ सय ६५ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

शिविरमा १९८ जनाको रगत परीक्षण, १९१ जनाको भिडियो एक्सरे र १५३ जनाको मुटुको जाँच (इसीजी) गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएर शिविरमा आएका १७ जनाको दाँत खोलिएको छ ।

त्यस्तै, ललितपुरको गोदावरी नगरपालिका-११ र ज्योतिदय सहकारी माध्यमिक विद्यालयसँग सहकार्य गरेर केएमसीले चापागाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार १ सय ५३ बिरामीले निःशुल्क उपचार पाएका छन् । शिविरमा १८२ जनाको रक्त परीक्षण, १७४ जनाको मुटुको जाँच (इसीजी) र १५५ जनाको भिडियो एक्सरे गरिएको केएमसीका जेनेरल मेनेजरसमेत रहेका दाहालले जानकारी दिए ।

नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अहिले केएमसी अध्यक्षको पनि जिम्मेवारी सम्हालेका छन् । डा.शर्माको प्रवेशसँगै केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यता, डा.शर्माले सञ्चालन गरेको नोबेलले बर्षौअघिदेखि गरिब तथा विपन्न बिरामीलाई लक्षित गरी पूर्वी नेपालका गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *