जो देशका लागि आईसीयूबाट निस्किएर मैदानमा डटे !

यूएईमा जारी टी-२० विश्वकपमा पाकिस्तानको रवाफिलो प्रदर्शनको औपचारिक अन्त भएको छ । सेमिफाइनलमा उच्च स्कोरका बाबजुद पाकिस्तान अस्ट्रेलियासँग पराजित भएर प्रतियोगिताबाट बाहिरियो । पाकिस्तान समूहचरणमा लगातार पाँच खेलमा जित निकालेर अपराजित रहेको थियो ।

पाकिस्तान प्रतियोगितबाट बाहिरिए पनि उसको प्रदर्शनको तारिफमा दिग्गज खेलाडी अघि सरिरहेका छन् । अझ धेरै तारिफ ओपनर मोहमद् रिजवानको भइरहेको छ । उनले अस्ट्रेलिया अघिको खेलअघि जे भयो त्यो साँच्चिकै अविश्वसनीय रह्यो । उनी सेमिफाइनलको खेलअघि छातिमा देखिएको समस्याका कारण दुई दिन आईसीयूमा रहे । आईसीयूबाट निस्किएर उनी मैदानमा पुगे । जहाँ उनले पाकिस्तानका लागि सर्वाधिक ६७ रनको योगदान दिए ।

जारी विश्वकपमा दुबईमा टस हार्नु खेल हार्नुसरह हुँदै आएको छ । पाकिस्तान पनि टस हारेर पहिले ब्याटिङमा उत्रियो । ४ विकेट गुमाएर १७६ रनको उच्च स्कोर तयार गर्‍यो । यो स्कोरमा अहम् भूमिका यिनै रिजवानको रह्यो । जहाँ उनी पूर्ण फिटमात्र होइन बिरामी अवस्थामा नै मैदानमा डटेका थिए ।

सेमिफाइनल भिडन्तमा उत्रिनुअघि रिजवान दुई रात आईसीयूमा रहेका थिए । उनको छातीमा समस्या भएपछि दुबईको एक अस्पतालमा भर्ना गरिएको थियो । र तत्काल आईसीयूमा राखेर उपचार गरिएको थियो । उनलाई सेमिफाइनलको बिहानमात्र अस्पतालबाट डिस्चार्ज गरिएको थियो । कप्तान बाबर अजामले भने‚ ‘उनले साँच्चै नै उत्कृष्ट खेले । मलाई उनलाई गाह्रो हुन्छ कि भन्ने लागिरहेको थियो । त्यसैले उनलाई स्वास्थ्यबारे सोधिरहेको थिएँ । उनले टीमका लागि खेल्न तयार छु भनेपछि मलाई विश्वास लाग्यो र हामी मैदानमा सँगै उत्रियौँ ।’

त्यसो त बाबर र रिजवानको यो जोडीले साँच्चिकै लोभलाग्दो प्रदर्शन गर्‍यो । बाबरले चार अर्धशतक प्रहार गर्दै ६ खेलमा ३ सय ३ रन बनाए भने रिजवानले तीन अर्धशतक प्रहार गर्दै २ सय ८१ रन बनाए । उनीहरूलाई अस्ट्रेलियाका डेभिड वार्नरले २ सय ३६ रनका साथमा पछ्याइरहेका छन् ।

रिजवान आईसीयूबाट उठेर मैदानमा उत्रिएको समाचार बाहिरिएसँगै पाकिस्तानका ब्याटिङ कोच म्याथ्यू हेडनले रिजवानको खुलेर प्रशंसा गरे । उनले भने‚ ‘उनी एक योद्धा हुन् । विश्वकपका दौरान उनले उत्कृष्ट खेल खेले । अद्वितीय साहसका साथ मानमा डटेर खेले । अझ अस्ट्रेलियासँगको खेलअघि जे भयो र त्यसपछि उनी पुनः मैदानमा आए त्यसका लागि प्रशंसाका शब्द छैनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *