प्रचण्डको विश्वासः

‘विप्लव-वैद्यजीहरू चाँडै माओवादीमा आउनुहुन्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित भएर क्रान्ति सफल नहुने दोहोर्‍याएका छन् । पूर्वमाओवादी ध्रुवीकरणकाे सन्दर्भ जोड्दै प्रचण्डले भने, ‘किरणजीको अर्कै पार्टी बन्यो । चल्ने कुरा भएन । विप्लवजीको अर्कै पार्टी बन्यो । तपाईंहरूलाई थाहा छँदैछ । यसरी विभाजित भएर हुँदैन रहेछ भन्ने अब सबैलाई थाहा भएको छ । एकै ठाउँमा नउभिएसम्म क्रान्ति अधुरै रहन्छ । क्रान्ति सफल हुँदैन ।’

शुक्रबार आयाेजित एक कार्यक्रममा प्रचण्डले बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवदेखि माेहन वैद्य किरणसम्म चाँडै माओवादीमा आउने विश्वास व्यक्त गरेका छन् । ‘उहाँहरू चाँडै गोलबद्ध हुन आउनुहुन्छ भन्ने विश्वासमा छु । यसका लागि आवश्यक कुराकानीहरू पनि चलिरहेकै छन् । त्यसपछि हामी नयाँ अध्ययन, अनुसन्धानअनुसार अगाडि बढ्छौँ । क्रान्तिलाई सफल बनाउन यी शक्तिहरू अब एकैठाउँ उभिनुपर्नेछ ।’

विगतमा माओवादी आन्दाेलनले हासिल गरेको राजनीतिक उपलब्धिहरू उल्ट्याउने कोसिस भइरहेको प्रचण्डकाे भनाइ थियाे । ‘माओवादी र नेताको हैसियतले प्रचण्डलाई सिद्ध्याउनैपर्छ भनेर केही प्रतिक्रियावादी शक्तिहरू लागेका छन् । यसलाई परास्त गरेरै भएपनि अगाडि बढ्नुपर्ने बाध्यता हामीलाई छ । यसमा सबैको साथ चाहिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *