उच्चस्तरीय स्वीस प्रतिनिधिमण्डल र कांग्रेस उपसभापति निधिबीच भेटघाट

काठमाडौँ । स्वीस सहयोग रणनीति मूल्याङ्कनका लागि नेपाल भ्रमणमा रहेको स्वीस सरकारको उच्चस्तरीय प्रतिनिधि मण्डल र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच बिहीबार भेटवार्ता भएको छ ।
निधि निवास बानेश्वरमा भएको भेटमा स्वीस प्रतिनिधिमण्डलले नेपालको परिवर्तित राजनीतिक सन्दर्भ, नयाँ संविधान र संघीयताको कार्यान्वयन तथा संक्रमणकालीन न्याय र विकास निर्माणको क्षेत्रमा स्वीस सरकारले गरेको सहयोगका विषयमा छलफल भएको थियो ।
नेपालको विकासमा स्वीस सरकारको सहयोगको निधिले प्रशंसा गरेका थिए। सहयोगका लागि धन्यवाद दिँदै उनले अन्य विकासमा पनि सहयोग विस्तार गर्न आग्रह गरेका थिए । साथै, निधिले नेपालमा कृषि, जलविद्युत्को क्षेत्रमा लगानी गर्नका लागि लगानीकर्ता पठाउन पनि आग्रह गरेका थिए ।
जवाफमा नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरले त्यसका लागि आफूहरू तयार रहेको भन्दै नेपालको झन्झटिलो सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएकी थिइन् ।
नेपाल भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रदेश नं १ का जिल्लाहरूमा सञ्चालित परियोजनाको स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिमण्डलमा राजदूत क्यापिलरसहित मेरी हब्ली, गर्ट इञ्जल्समन, क्रिस्टोफ गार्फ र जोसे लुइस पेरेरा ओसियो सहभागी थिए ।








