धनकुटामा दोस्रो एभोकाडो महोत्सव हुँदै

धनकुटा । जिल्लामा आगामी मङ्सिर पहिलो साता दोस्रो एभोकाडो महोत्सव हुने भएको छ । घ्यू फलको रूपमा परिचित एभोकाडोजन्य उत्पादनहरुको प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यसहित महोत्सव हुने भएको हो ।

एभोकाडो कृषक समूहको आयोजना तथा धनकुटा नगरपालिकाको सह–आयोजनामा आगामी मङ्सिर ४ र ५ गते दुई दिने एभोकाडो महोत्सव हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । धनकुटा–६ परिचय एभोकाडो प्रतिमा सहितको पार्कमा महोत्सव हुनेछ । महोत्सवमा ५० वटा स्टल रहनेछ । स्टलमा किसानले फलाएका विभिन्न जातको फलहरू राखिनेछ । किसानलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।

महोत्सवमा सहभागी भएका नगरक्षेत्रका एभोकाडो कृषकहरूलाई प्रोत्साहन स्वरूप प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको आयोजक संस्था धनकुटा नगरपालिका एभोकाडो कृषक समूहका अध्यक्ष खेमराज थापाले बताए । महोत्सवको दोस्रो दिन राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय सङ्घसंस्थाका प्रतिनिधि, सम्बन्धित विषय क्षेत्रका सरकारी प्रतिनिधिहरू, विषयविज्ञ, एभोकाडो उत्पादक कृषक तथा व्यापारी बिच अन्तर्क्रिया कार्यक्रम राखिएको छ ।

जसबाट एभोकाडो उत्पादनमा देखा परेका रोग प्रकोपको समस्या तथा बजार व्यवस्थापन सम्बन्धी विषयमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा बोल्दै धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले यो वर्ष एभोकाडो प्रवर्द्धन कार्यक्रमका लागि १ करोड बजेट विनियोजन जानकारी दिए । धनकुटा नगर क्षेत्रमा एभोकाडोको व्यावसायिक खेती हुन्छ । घरपिच्छे एभोकाडोको बिरुवा लगाएका छन् ।

नगरपालिकाले पनि केही वर्ष अघि मेयर कृषि कार्यक्रम मार्फत नगरक्षेत्रलाई एभोकाडोको राजधानी घोषित गरेको थियो । एभोकाडोको व्यावसायिक खेती तर्फ किसानलाई आकर्षित तथा प्रोत्साहन गर्नु महोत्सवको मूल उद्देश्य रहेको मेयर तामाङले बताए । एभोकाडो उत्पादनमा नेपालमै अग्रपङ्क्ति आउने धनकुटामा अहिले वार्षिक ३ लाख किलो एभोकाडोको फल उत्पादन हुन्छ ।

३० वर्षअघि एभोकाडो खेती भित्रिएको धनकुटामा नगर क्षेत्रमा मात्रै वार्षिक एक लाख किलो एभोकाडो उत्पादन हुन्छ । पछिल्लो समय यस खेतीको विस्तार तीव्र रूपमा भइरहेको छ । बजारमा एभोकाडोको मूल्य प्रतिकिलो अहिले दुई सय देखि तीन सय पचास सम्म रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =