जहाँ भोकमरी टार्न आफ्नै सन्तान बिक्री गरिन्छ

काठमाडौँ । जब हामी हेरात सहरबाट बाहिर निस्कियौँ‚ भिडभाडयुक्त सडकपछि एउटा अर्को सडक भेटियो । हिँड्दै जाँदा हामीले पार गरेका दुई तालिबान चेकपोस्टलाई हेरेरै पनि अहिले अफगानिस्तानमा कसले शासन गरिरहेको छ भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्थ्यो ।

हामीले पार गरेका पोस्टमध्ये पहिलो पोस्टमा भेटिएका तालिबानी लडाकुहरू दोस्रो पोस्टका लडाकुभन्दा तुलनात्मक रुपमा मिलनसार थिए । तर‚ उनीहरूले हामी रहेको कार र संस्कृति मन्त्रालयले दिएको सवारी पासलाई कडाइका साथ जाँच गरे ।

जब हामी पहिलो चेक पोस्टबाट निस्कने तरखर गर्‍यौँ‚ काँधमा अस्ल्ट राईफल झुन्ड्याएका एक व्यक्तिले मिठो हाँसोका साथ भने, ‘तालिबानसँग डराउनुपर्दैन । हामी राम्रा मान्छे हौँ ।’ फेरि अर्को चेकपोस्टमा बसेका पहरेदार पहिलो चेकपोस्टका भन्दा केहि फरक थिए‚ चिसो मन भएका र डरलाग्दा । हिँड्दै जाँदा कस्ता प्रकृतिका तालिबानी लडाकुहरूसँग भेट हुन्छ भन्नेबारे कसैलाई भनकसम्म पनि पर्दैन ।

तालिबानका केही लडाकुहरूले विरोध प्रदर्शनलाई कभर गर्नका लागि फिल्डमा खटिएका अफगानिस्तानका केही पत्रकारलाई निर्मम ढंगबाट कुटपिट गरेका थिए ।

केही समययता इन्टरनेटमा छाएको एक भिडिओमा एक जना विदेशी फोटोग्राफरलााई तालिबानी लडाकुले बन्दुकको बटले कुटिरहेको देखिएको छ ।

खुसीको कुरा त के छ भने‚ हामीलाई चेकपोस्टबाट छिटै छुटकारा मिल्यो । तर उनीहरूले एक सर्तमा हामीलाई चेकपोस्टबाट छाडिदिएका थिए‚ जुन हाम्रा लागि चेतावनी थियो । उनीहरूले तालिबानको बारेमा राम्रो समाचारमात्र लेख्न भनेका थिए ।

एउटा बच्चाको मूल्य ६५ हजार भारतीय रुपैयाँ

हेरातबाट करिब १५ किलोमिटर दूरीमा ईट र माटोले बनेको एक कोठे घर भएको एउटा ठूलो बस्ती नै फेला पर्‍यो । वर्षौँदेखि चलिरहेको युद्ध र भोकमरीले विस्थापित भएका दूर दराजका व्यक्तिहरू यहाँ आएका थिए‚ ताकि नजिकैको सहरमा सुरक्षा र काम पाइयोस् ।

जब हामी कारबाट बाहिर ओर्लियौँ‚ त्यहाँ चारैतिर धूलो उड्न थाल्यो । अझ केही हप्तायतादेखि भइरहेको मौसम परिवर्तनका कारण हावामा चिसो सिरेटो मिसिएकाले स्थिति झनै कष्टकर बन्यो । यहाँका मानिसहरू गरिबीको चपेटामा परेर साँच्चै नै आफ्ना कलिला बच्चाहरू बेचिरहेका छन् त भन्ने कौतुहलताले हामीलाई त्यहाँसम्म डोर्‍याएको थियो ।

अफ़ग़ानिस्तान, बच्ची

गरिबीको चपेटामा परेर उनीहरूले आफ्नै बच्चाहरू बेच्ने गरेको खबर सुनेपछि मलाई एक-दुईवटा घटना मात्र त्यस्ता होलान् भन्ने लागेको थियो । तर जब हामी त्यहाँ पुग्यौँ र त्यहाँको बारेमा केही जान्यौँ‚ हामीलाई लाग्यो- हामी अझै यो परिस्थितिको सामना गर्नका लागि पूर्ण रूपमा तयार भइसकेका रहेनछौँ ।

त्यहाँ पुगेको केही समयपछि एक व्यक्तिले हाम्रो समूहकै एक सदस्यसँग सोध्यो, ‘तपाईँ मेरो बच्चा किन्नुहुन्छ ।’ बच्चा किनेबापत उसले ६५ हजार भारतीय रुपैयाँ मागेको थियो । जब मेरो सहकर्मीले उनलाई ‘किन आफ्नो बच्चा बेच्न खोजेको’ भनेर प्रश्न गरे । जवाफमा उनले आफ्नो अरू ८ बच्चा बचाउन एक बच्चा बेच्न चाहेको बताएका थिए । ती व्यक्तिसँग आफ्ना अरू ८ बच्चालाई खुवाउनका लागि केही पनि थिएन ।

बच्चा बेचेर खाना जुटाउनुपर्ने बाध्यता

हामी बस्तीबाट थोरै अगाडि बढ्दै थियौँ‚ एक महिला हातमा आफ्नी छोरी लिएर हामी सामु आइन् । उनी आत्तिएर हतार गर्दै केही भन्दै थिइन् । हाम्रो अनुवादकले हामीलाई बताएअनुसार उनी आफ्नी छोरी हामीलाई बेच्न चाहन्छिन् ।

पैसाको अभावमा यसअघि नै उनले आफ्नी डेढ वर्षकी छोरी बेचिसकेकी रहिछन् । ती महिलासँग अरू सोधपुछ गर्न नपाउँदै त्यहाँ एउटा भीड जम्मा भयो । त्यही भीडबाट एक युवकले आफ्नी १३ महिनाको भान्जीलाई पहिल्यै बेचिसकेको बताए ।

उनले आफ्नी भान्जीलाई घोर प्रान्तका एक व्यक्तिले धेरै टाढाबाट आएर किनेको बताए । जसले किनेका थिए‚ उनले ती बच्चालाई हुर्काएर आफ्नो छोरासँग विवाह गरिदिने बताएका थिए । यहाँ यी बच्चाको भविष्यको बारेमा निश्चित कुरा बताउन सक्ने कोही पनि थिएनन् । एउटा घरमा ६ महिने शिशु कोक्रामा निदाइरहेकी थिइन् । उनलाई हिँड्ने भएपछि बेच्ने सम्झौता भइसकेको थियो ।

अफ़ग़ानिस्तान, बच्ची

बच्चाको आमा-बुबालाई सोधेपछि थाहा भयो- उनीहरूको अरू तीन वटा बच्चा रहेछन् । उनीहरूको परिवारले खानाको अभावमा कयौँ दिन भोकै बिताएको उनीहरूले सुनाए । यी छोरीका बुबाले फोहोर जम्मा गरेर आफ्नो गुजारा चलाइरहेका थिए ।

उनले हामीसँग दुःख पोखे, ‘प्रायः केही काम नै पाइँदैन । जब कमाइ हुन्छ‚ त्यसले हामी ६-७ वटा रोटी किन्छौँ र त्यसलाई बाँडेर खान्छौँ । मेरी श्रीमती छोरी बेच्ने निर्णयसँग सहमत छैनन् । त्यसैले उनी तनावमा छिन् । तर म बाध्य छु‚ के गर्नु‚ बाच्ने अरू कुनै उपाय नै छैन ।’ म उनको श्रीमतीको आँखा कहिल्यै बिर्सिन्न । ती आँखामा क्रोध र बाध्यता दुवै झल्किरहेको थियो ।

अफ़ग़ानिस्तान, महिला

छोरीलाई बेचेबापत जति पैसा प्राप्त हुन्थ्यो‚ त्यसले उसलाई बाच्नका लागि सहयोग गर्थ्यो । अरू सन्तानका लागि समेत खानेकुराको व्यवस्थापन हुन्थ्यो‚ तर केही महिनाका लागि मात्र ।

जब हामी त्यो घरबाट निस्कियौँ‚ हाम्रो अघि अर्की महिला आइन् । उनको इशाराले पैसा मागिरहेकी छन् भन्ने प्रष्टै बुझ्न सकिन्थ्यो । उनी पैसा पाए आफ्नो बच्चा त्यहीँ नै हामीलाई सुम्पिन तयार भइन् ।

अफ़ग़ानिस्तान

यहाँको यति धेरै परिवारहरू आफ्ना छोराछोरी बेच्न बाध्य छन् भनेर हामीले सोचेका पनि थिएनौँ । यस्तो अवस्थामा त्यहाँ खुलेर कुरा गर्ने माहौल नै भएन । हामीसँग जति पनि जानकारी उपलब्ध थियो‚ त्यही जानकारी दिन हामीले संयुक्त राष्ट्रसंघको बालबालिकाका लागि काम गर्ने संस्था यूनिसेफलाई सम्पर्क गर्‍यौँ । उनीहरूले हामीलाई यस्ता परिवारसम्म पुग्ने कोसिस गर्ने बताए ।

अफगानिस्तानको अर्थ व्यवस्था विदेशी धनले चल्दै आएको छ । तालिबानले अगस्टमा जब सत्ता कब्जा गर्‍यो‚ त्यस बेलादेखि नै विदेशी लगानीहरू आउन बन्द भयो । यसको अर्थ के हो भने सबैथरि सरकारी खर्च‚ चाहे सरकारी कर्मचारीको सेवा सुविधा होस् वा सरकारको विकासका कार्य सबै रोकिएका छन् ।

यसले अर्थतन्त्रको तल्लो भागका मानिसहरूका लागि विनाशकारी अवस्था सिर्जना गरिरहेको छ‚ जो अगस्टभन्दा पहिले नै कठिन अवस्थासँग जुधेर बाँचिरहेका थिए ।

मानव अधिकार र सुरक्षा ग्यारेन्टीबिना पैसा कसरी खर्च भयो भनी छानबिन नगरी तालिबानलाई पैसा दिनु खतरनाक हुने देखिएको छ । तर समस्याको समाधान नहुँदा र हरेक दिन बित्दै जाँदा अफगान जनता भोकमरीतर्फ जान बाध्य छन् । हेरातमा हामीले देखेको कुराबाट स्पष्ट छ कि अफगानिस्तानका लाखौँ मानिसहरू बाहिरी सहयोगबिना यो जाडो मौसम बिताउन सक्ने अवस्थामा छैनन् ।

बिबिसी हिन्दीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *