किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन : उपराष्ट्रपति र मुख्यमन्त्रीद्वारा उद्घाटन हुँदै

काठमाडौँ । किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन कात्तिक अन्तिम साता हुने भएको छ । सम्मेलनको ‘किरात राई जातिको इतिहास, भाषा, धर्म र संस्कृति संरक्षण हाम्रो अभियान- विश्वका किरात राईहरूकाे एकताका लागि किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन’ नाराका साथ कात्तिक २७ गते उपराष्ट्रपति नन्दबहादुर पुन र प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र थुलुङ राईले काठमाडौँको सभागृहमा उद्घाटन गर्दैछन् ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रदेश नं. १ का सामाजिक विकास राज्यमन्त्री विष्णुमाया लिम्बु (राई) समेत आउँदैछन् । सम्मेलन मूल आयोजक समितिका सदस्य खुक्सङ खम्बु राईकाअनुसार कार्यक्रममा अन्य प्रदेशहरूका मन्त्री तथा सांसदहरूको समेत उपस्थिति रहनेछ ।

यसैगरी कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार जितेन राई, महागायक राजेशपायल राई, गायक तथा गायिकाहरू पार्वती राई, भीमण मुकारुङ, राई नवीन, पदम राईलगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । यस्तै कार्यक्रममा हाँस्यकलाकारद्वय विल्सन विक्रम राई उर्फ तक्मे बूढा र फुलन्देकी आमा उर्फ उमेश राईसँगै वरिष्ठ बाँसुरीवादक नगेन्द्र राईलगायतकाे पनि प्रस्तुति रहनेछ ।

सम्मेलनले खासगरी विश्वभर रहेका किरात राई समुदायको एकता, संस्कार, संस्कृतिमा एकरूपता ल्याउन प्रयास गर्नुका साथै प्रदेश १ काे नाम किरात प्रदेश राख्न विशेष पहल गर्ने आयाेजकले दाबी गरेकाे छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा कात्तिक २८ गते बन्दसत्र हुने सदस्य राईले बताए । सम्मेलनमा ८ भन्दा बढी कार्यपत्रहरू प्रस्तुत हुनेछन् । छलफलपछि सामूहिक निर्णयमार्फत अगाडि बढिने मूल आयोजक समितिका संयोजक दिवस राईले बताए । कात्तिक २७ गते उद्घाटन हुने सम्मेलन २९ गतेसम्म चल्नेछ ।

सम्मेलनमा छिमेकी भारतको दार्जिलिङ्ग, सिक्किमसँगै अन्य देशहरू अमेरिका, बेलायत, इजरायल, यूएई, कतार, मलेशिया, मकाउ, हङकङललगायतबाट प्रतिनिधिहरू आउनेछन् । यस्तै १५ भन्दा बढी विदेश शाखा, २३ भन्दा बढी नेपालस्थित जिल्लाहरू २६ भन्दा बढी भाषिक संस्थाहरु, २ वटा किरात प्रदेश समन्वय समितिहरू र ८ भातृ संस्थाहरूबाट ३७५ जनाभन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

यसअघि ०६७ साल चैत २७ र २८ गते, काठमाडौँमै पहिलो र ०७१ साल फागुन ९ र १० गते भारतको सिलिगुढीमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =