एमाले महाधिवेशन : प्रत्येक सदस्यले कम्तीमा सय रुपैयाँ उठाउनुपर्ने

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको १०औं महाविधेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा १०० रुपैयाँ सङ्कलन गर्ने निर्णय गरेको छ । बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठान, काठमाडाैँमा बसेको महाधिवेशन मूल व्यवस्थापन समितिले यो निर्णय गरेको केन्द्रीय प्रचारप्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए ।

त्यसका लागि पार्टीले खाता खाेलेकाे जानकारी दिए । ‘पार्टीले त्यसका लागि भनेर खाता खाेलेकाे छ । त्यसमा कम्तीमा प्रत्येक सदस्यले १०० रुपैयाँ पठाउनुपर्ने छ । आजकाे मूल व्यवस्थापन समितिकाे बैठकले याे निर्णय गरेकाे हाे,’ प्रमुख भट्टराईले भनेका छन् ।

यथास्थितिमा एमालेसँग ७ लाख ३० हजार पार्टी सदस्य रहेको प्रमुख भट्टराईले दाबी गरे । उनीहरू प्रत्येकबाट १०० रुपैयाँका दरले जम्मा हुँदा खातामा ७ करोड ३० लाख हुने उनले बताए । ‘यो रकमले देशभरीका कार्यकर्ताहरूको व्यवस्थापनसँगै मित्रराष्ट्रहरूबाट आउनुहुने पाहुनाहरू र पार्टीका विभिन्न संगठनहरूबाट आउनुभएका प्रतिनिधिहरूको सम्मान र व्यवस्थापनामा सहयोग पुग्ने अपेक्षा पार्टीले गरेको छ ।’

कात्तिक २७ सम्म प्रतिनिधि छनौट

१०औं महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिर १० गते अपराह्न १२ बजे चितवनको नारायणी नदी किनारमा गर्दैछन् । यसपछि महाधिवेशनअन्तर्गतका कार्यक्रमहरू  आधिकारिक रूपमा सुरुवात हुने प्रमुख भट्टराईले बताए । उद्घाटन सत्रमा कम्तीमा ५ लाख जनपरिचालन गर्ने एमालेले लक्ष्य लिएकाे छ ।

यस्तै महाधिवेशनको बन्दसत्र सौराहामा हुँदैछ । त्यसअघि कात्तिक २७ गतेसम्म प्रतिनिधिहरूको निर्वाचन गरेर १,९९९ प्रतिनिधि छनौट गर्ने एमालेले जनाएको छ । ३० गतेभित्र प्रतिनिधिको नाम केन्द्रीय कार्यालयमा उपलब्ध भइसक्ने प्रमुख भट्टराईले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *